रविमाथि कारबाही, धनराजमाथि अनुसन्धान

रविमाथि कारबाही, धनराजमाथि अनुसन्धान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको बचत हिनामिनामा संग्लन रहेको पुष्टि भएको छ । संसदीय विशेष छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित विभिन्न सहकारीको बचत अपचलनमा संलग्न रहेको निष्कर्ष निकालेको छ । 

समितिले आज सभामुख देवराज घिमिरेलाई बुझाउन लागेको प्रतिवेदनमा गोर्खा मिडियाको प्रबन्ध निर्देशकका रुपमा आर्थिक कारोबारमा उनको हस्ताक्षर रहेको उल्लेख छ । समितिका एक जना सदस्यका अनुसार सहकारी बचत रकम अपचलनमा लामिछानेलाई दोषी औंल्याउँदै कारबाही सिफारिसका लागि प्रतिवेदनमा लेखिएको छ । 

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी ठगी प्रकरणका मुख्य आरोपित जिबी राईका तत्कालीन व्यावसायिक साझेदार हुन् । राई अध्यक्ष रहेको गोर्खा मिडियाको प्रबन्ध निर्देशक मात्र नभई उनकै भाषामा ‘स्वेट शेयर’ पनि लिएका थिए । 

लामिछानेसँग संसदीय समितिले करिब १० घन्टा सोधपुछसमेत गरेको थियो । तर, सहकारीहरूबाट बचत रकम गोर्खा मिडियामा आएकोबारे आफूलाई थाहा नभएको जिकिर गरेका उनले समितिमा पनि त्यहि व्यहोराको बयान दिएका थिए ।

समितिले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ पनि सहकारीको रकम अपचलनमा संलग्न रहेको ठहर गरेको छ । उनीमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

पूर्वमन्त्रीसमेत रहेका गुरुङ ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा जोडिएका छन् । गुरुङ र उनकी श्रीमती ज्योतीविरुद्ध समितिमा उजुरी परेपछि छानबिन हुँदा ठगीमा संलग्नता ठहर हुने विभिन्न आधार देखिएकाले थप अनुसन्धानका लागि सिफारिस गरेको उनै सदस्यले जानकारी दिए ।

 

टिप्पणीहरू