रविलक्षित शंकरको कटाक्ष : कस्तो सुशासन दिन खोजेको प्रष्ट भयो हैन र ?

रविलक्षित शंकरको कटाक्ष : कस्तो सुशासन दिन खोजेको प्रष्ट भयो हैन र ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरुले दिन खोजेको सुशासन छर्लङ्ग भएको टिप्पणी गरेका छन् । 

रास्वपा सभापति रवि लामिछानेप्रति कटाक्ष गर्दै उनले ठगीबाट आएको पैसालाई मनलाग्दी खर्च गरेर दायीत्वबाट पन्छिन खोज्दा वैकल्पिक राजनीतिको सुशासन स्पष्ट भएको बताएका हुन् । सहकारी ठगी प्रकरणमा लामिछानेले 'क्लिनचिट' पाएको भनेर गरिएका प्रचारको उनले घुमाउरो खण्डन गरे । 

‘कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ’, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि उसले गरेको त्यो काम उसको दायित्वभित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ? ’

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक लामिछानेलाई दोषी ठहर गर्दै कारवाही सिफारिस गरेको छ । सहकारीको पैसा गोरखा मिडियामा ल्याउन उनको प्रत्यक्ष संलग्नता नदेखिए पनि प्राप्त रकम परिचालनमा भने मुख्य भूमिका रहेको समितिको निष्कर्ष छ । 

तर, रास्वपाका नेताहरुले भने सहकारी प्रकरणमा लामिछानेले 'क्लिनचिट' पाइसकेको दावी गरिरहेका छन् । यसै सन्दर्भमा पोखरेलको यो प्रतिक्रिया आएको हो ।

टिप्पणीहरू