भव्य भवन बनाउन एमालेले सय रुपैयाँ उठाउने

भव्य भवन बनाउन एमालेले सय रुपैयाँ उठाउने
सुन्नुहोस्

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्नै स्वामित्वको पार्टी कार्यालय बनाउन सदस्यहरुबाट रकम उठाउने भएको छ । 

एमालेले सदस्यता नवीकरण र विस्तारको क्रममा पार्टी कार्यालय भवनका लागि प्रत्येक सदस्यबाट कम्तिमा एक सय रुपैयाँ उठाउन लागेको हो । हालै पारित वार्षिक कार्ययोजनामा उक्त कुरा उल्लेख छ ।   

०७२ सालको भूकम्पले बल्खुस्थित आफ्नै भवन भत्काएपछि एमालेले भाडाको घरबाट कार्यालय संचालन गर्दै आएको छ । यसबीचमा धुम्बाराही, थापाथली हुँदै अहिले च्यासलमा केन्द्रीय कार्यालय छ । तुल्सीलाल प्रतिष्ठानको नाममा रहेको सो भवनमा ठाउँ अपुग भएको भन्दै एमालेले आफ्नै स्वामित्वमा सुविधा सम्पन्न आधुनिक कार्यालय बनाउन जग्गा खोजीरहेको छ । 

१८ बुँदे कार्ययोजनामा थप आर्थिक सहयोग गर्न चाहनेहरुको लागि रोष्टर तयार पार्ने भनिएको छ । त्यस्तै, भवन निर्माण र स्रोत परिचालनको लागि आवश्यक समिति गठन गरी आगामी मंसिरभित्र जग्गाको पहिचान र व्यवस्थापन गर्ने जिम्मा सचिवालयलाई तोकिएको छ ।

एमालेले प्रदेश र जिल्ला कमिटिहरुलाई पनि पार्टीको आफ्नै कार्यलय भवन निर्माणको लागि योजना बनाउन सर्कुलर जारी गरेको छ । कार्यकता र जनतासँगको सम्बन्धलाई सुदृढ गर्न पार्टी कार्यालयको ठूलो भूमिका रहने भन्दै ‘आफ्नो कार्यालय भवन छैन भने उपयुक्त ठाउँमा कार्यालय भवन बनाउने योजना अविलम्ब तयार गर्ने’ कार्ययोजना एमालेको छ । 

पार्टी कार्यालयहरुमा कार्यकर्ता र जनताको समस्या सम्बोधन तथा सहजीकरण गर्न सक्ने जिम्मेवार व्यक्ति (प्रमुख पदाधिकारी)लाई अनिवार्य उपस्थित गराउन पनि एमालेले निर्देशन दिएको छ । 

कार्यालयमा पार्टीको झण्डा, चुनाव चिन्ह अंकित झण्डा, विधान, प्रतिवेदन, निर्देशिका एंव नियमावली, विभिन्न सान्दर्भिक प्रकाशनहरुको उपयुक्त संग्राहलय बनाउन पनि तल्लो तहका कमिटीहरुलाई निर्देशन दिइएको छ । ‘माथिल्ला कमिटीबाट माग भएबमोजिमको जानकारी तत्काल दिनसक्ने गरी अभिलेखलाई व्यवस्थित बनाउने’, भनिएको छ । 

एमालेले यसअघि पनि पार्टी केन्द्रीय कार्यालय निर्माण अभियानमा जुट्न कार्यकर्ता पंक्तिलाई आह्वान गरेको थियो । गत वैशाखमा गोदावरीमा आयोजित महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापन समारोहमा कार्यालय भवन निर्माण अभियानका लागि रकम जम्मा गर्न क्युआर कोडसमेत सार्वजनिक गरिएको थियो । 

त्यसक्रममा सदस्यता नवीकरण र बिस्तार गर्दा प्रत्यक पार्टी सदस्यबाट सय रुपैयाँ अनिवार्य संकलन गर्ने प्रक्रिया जारी रहेको पनि जानकारी गराइएको थियो ।

 

टिप्पणीहरू