संविधान दिवसअघि राजेन्द्र लिङदेनको चुनौती : सके समातेर देखाओ

संविधान दिवसअघि राजेन्द्र लिङदेनको चुनौती : सके समातेर देखाओ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै उनले पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् । आफ्नो पार्टी संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिनेसमेत लिङदेनले स्पष्ट पारे ।

‘संविधान दिवसमा संविधान विरोधी पार्टीका नेताहरुलाई नोटिसमा राखिएको छ र त्यसमा राजेन्द्र लिङ्देन पनि सरकारको नोटिसमा छ भनेर अहिले हेरेँ’, उनले चेतावनी दिँदै भने, ‘म यहाँबाट केपि ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङदेन । राजेन्द्र लिङदेन त्यसको विरोध गर्छ । विपक्षमा छ । सके पक्रेर देखाओ ।’

राप्रपाले अराजकतामा भविष्य नखोजेको भन्दै उनले अहिलेसम्म आफूहरुले संयमता अपनाइरहेको पनि बताए । अहिलेको संविधानले निकाश नदिने दाबी गर्दै उनले जबरजस्ती गरिरहे जनताको बलमा उल्ट्याउने चेतावनी दिए । 

‘हामीले अराजकताभित्र भविष्य खोजेका छैनौँ । त्यसकारण संयमता अपनाइरहेका छौँ । हामीले यो सरकार र ठूला पार्टीहरुलाई आह्वान गरिराखेका छौँ कि यो संविधानले काम गरेन । यो संविधानले काम गर्न सक्दैन । यो संविधान जति परसम्म बोकेर लगिन्छ, देश र जनताले त्यति नै दुःख पाउनेछन् र देश ध्वस्त हुने अवस्था छ । त्यसकारण चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरुलाई समेटेर नयाँ यात्रा तय गर्नुछ । अब अगाडि जानुको विकल्प छैन’, उनले भने । 

भोलि सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छ । तर, केही साना दलहरुले संविधानको विरोध गर्दै सरकारविरुद्ध र्यालीको तयारी गरिरहेका छन् । यस्तो अवस्थामामा उपत्यकाको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले आजैदेखि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । 

सरकारले संविधानको विपक्षमा रहेका राजेन्द्र महतोदेखि लिङ्देनसम्मलाई नोटिसमा राखेको छ ।

टिप्पणीहरू