सहकारीको सुको नलिएको दाबी गरेका रविले जिबीसँग ७० लाख एडभान्स बुझेको स्वीकार

सहकारीको सुको नलिएको दाबी गरेका रविले जिबीसँग ७० लाख एडभान्स बुझेको स्वीकार
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहदाँ ७५ लाख एडभान्स लिएको पाइएको छ । 

संसदीय छानविन विशेष समितिसँगको बयानमा उनले उक्त कुरा स्वीकार गरेका हुन् । यद्यपि, कम्पनीको वित्तिय विषय अध्यक्ष जिबी राईले हेरेको र आफूले कर्मचारीको रुपमा सो रकम लिएको उनले उल्लेख गरेका छन् । 

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेलाई सोधिएको छ, ‘०७७ चैत्र १८ गते तपाईले कम्पनीबाट एक करोड ८० लाखको शेयर लगानी गरेको देखिन्छ, त्यो रकम के कसरी चुक्ता गर्नुभयो ?’ जवाफमा उनले 'स्वेट ईक्वेटी' प्रक्रियाको लागि गोर्खा मिडियाको खातामै रकम डिपोजिट गरिदिएको बताएका छन् । 

‘प्रचलित कानुनमा 'स्वेट शेयर'को प्रबन्ध नभएको हुनाले त्यो व्यवस्थापन गर्ने जिम्मा जिबी राईले लिनुभयो । मेरो काम कार्यक्रम र समाचारमा केन्द्रीत थियो । वित्तिय विषयहरु मिलाउने जिम्मा जिबी राईले नै लिनुभएको थियो । पारिश्रमिकवापत मैले मासिक पाँच लाख लिएको थिएँ, र ७५ लाख एडभान्समा लिएको थिए । जुन 'स्वेट इक्वेटी' प्रक्रियाको लागि कम्पनीमै डिपोजिट गरेको थिए । मेरो खातामा कुनै पनि सहकारीबाट रकम आएको छैन ।’

लामिछानेले गोर्खा मिडियाबाट बाहिरिँदासम्म जिबी राईको सहकारी छ भन्ने कुरा थाहा नपाएको जिकिरसमेत गरेका छन् । गोर्खा मिडियामा आफू जोडिनुभन्दा अघि नै राई र छविलाल जोशीले सहकारी सञ्चालन गरिसकेको उनको बयान समितिको प्रतिवेदनमा उल्लेखित छ । 

‘कम्पनी छोडेर जाँदा मैले एक पैसा पनि लगेको छैन । मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन । त्यतिन्जेलसम्म मलाई जिबी राईको कुनै सहकारी छ भन्ने कुरासमेत थाहा थिएन’, उनले भनेका छन्, ‘जिबी राई विभिन्न कम्पनी चलाएका व्यक्ति हुन् । उनका नेचर हब्स, नेचर नेस्टजस्ता बहुराष्ट्रिय कम्पनीहरु छन् भन्ने बुझेँ । उनी आर्थिक हैसियतले अत्यन्त सबल रहेको बुझेँ । त्यसबेला कुनै विवादमा रहेको मैले पाइनँ ।’

 

टिप्पणीहरू