बालमैत्री भन्दै, काममा लगाउँदै

बालमैत्री भन्दै, काममा लगाउँदै
सुन्नुहोस्

देशभरका ४६० वटा गाउँपालिकामध्ये पहिलोपटक बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको मकवानपुरको मनहरी गाउँपालिकासहित अन्य पालिकामा बाल श्रमिकको रूपमा काम गरिरहेको पाइएको छ । 

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित राजगमार्गका होटलमा मनहरी र राक्सिराङ गाउँपालिकाका ७ जना बालबालिकालाई उद्धार गरिएको हो । हेटौँडाबाट छोटो बाटो हुँदै काठमाडौँ पुग्ने हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक खण्डमा स्थापना भएका होटलमा भाँडा माझ्ने तथा अन्य काम गर्दै गरेको अवस्थामा १६ वर्षभन्दा मुनिका बालबालिकालाई उद्धार गरिएको सिविन नेपाल मकवानपुरका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले बताए । 

भीमफेदी गाउँपालिकाको अगुवाइमा भएको अनुगमनका क्रममा बागमती प्रदेशको श्रम तथा रोजगार कार्यालय, सिविन बाल हेल्पलाइन र छोराछोरी नेपाल नामक गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी थिए । भीमफेदी गाउँपालिका वडा नं ६ मा रहेका विभिन्न होटलबाट उनीहरूलाई उद्धार गरिएको हो । उद्धार गरिएकाहरूमा मनहरी गाउँपालिका, कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाका बालबालिकाहरू रहेका छन् । उनीहरूलाई उद्धार गरी सिविन बाल हेल्पलाइनमा राखिएको छ भने श्रम कार्यालयले ती होटललाई बालबालिकालाई गैरकानुनी रुपमा काममा लगाउनुको कारणबारे सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

मकवानपुरको १० वटा स्थानीय तहमध्ये मनहरी पहिलोपटक बालमैत्री गाउँपालिका घोषित भएको थियो भने बकैया गाउँपालिका पनि बालमैत्री गाउँपालिकाको रुपमा घोषणा भइसकेको छ । अहिले हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडा बालमैत्री वडा घोषणा भएका छन् भने छिट्टै नै उपमहानगरपालिकालाई नै बालमैत्री स्थानीय तह घोषणा हुने चरणमा छ । तर, बालमैत्री स्थानीय शासन अवलम्बन हुने अभियान चले पनि राजमार्गका होटल, मोटर ग्यारेज तथा अन्य कलकारखानामा बालबालिकालाई बालश्रममा लगाउने तरिका अझै हट्न सकेको छैन । 
 

टिप्पणीहरू