कारागारबाट कुमार रम्तेल भन्छन् : रविले धोका दिएपछि समस्या गहिरियाे

कारागारबाट कुमार रम्तेल भन्छन् : रविले धोका दिएपछि समस्या गहिरियाे

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेलले गोर्खा मिडिया नेटवर्कका तत्कालीन एमडी रवि लामिछानेले धोका दिँदा सहकारीमा समस्या आएको बताएका छन् । 

सहकारी छानबिनसम्बन्धी संसदीय छानबिन विशेष समितिमा बयानका क्रममा कुमारले पाँच वर्षसम्म ग्यालेक्सी फोर–के टेलिभिजनमा काम गर्ने सहमति गरेर रविले आठ महिनामै छाडेकाले सहकारीमा समस्या आएको बताए । 

उनले बयानमा भनेका छन्, ‘निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दीपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपार्ईंको भूमिका छ समेत भनेको थिएँ । ग्यालेक्सी टिभीमा कम्तीमा पाँच वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईंले आठ महिनामै छाडेका कारण समस्या भयो भन्दा उहाँले यसविषयमा जिबी राईसँग कुरा भइसकेको छ भन्नुभएको थियो ।’

रम्तेल सहकारी ठगी मुद्दामा अहिले कारागार कार्यालय, कास्कीमा छन् । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले तत्कालीन गृहमन्त्रीसमेत रहेका रविमाथि कारबाही हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाइसकेको छ । संसदले सरकारलाई हस्तान्तरण गरेको उक्त प्रतिवेदन कारबाहीका लागि क्याबिनेटले सम्बन्धित मन्त्रालयमा पठाएको छ । प्रतिवेदनमा रवि, जिबी राई, रम्तेल र छबिलाल जोशीलाई काबाहीको सिफारिस गरिएको छ ।

प्रतिवेदनको सुझाव खण्डमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरु अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छबिलाल जोशी कम्पनीमा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।

टिप्पणीहरू