प्रचण्डद्वारा राजा महेन्द्रको प्रशंसा, रविन्द्र मिश्रद्वारा खुलासा
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसँग भएको कुराकानीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजाहरुको प्रशंसा गर्नुभएको छ । प्रचण्ड निवास खुमलटारमा आज बिहानको भेटमा माओवादी अध्यक्षले विशेषगरी पञ्चायतकालीन राजा महेन्द्रको मुक्तकण्ठले प्रशंसा गर्नुभएको मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।
उहाँहरुबीच हिजो राजधानीमा आयोजित संविधान निगरानी समूहको कार्यक्रममा पनि रोचक सवाल जवाफ भएको थियो । प्रचण्डसँग मनका कुरा ! भन्दै मिश्रले लेखेका छन् :
हिजो कार्यक्रममा भेट भयो । आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो । ‘अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ । र त्यतिबेला तपाईँहरूको ’अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन ।’ लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो ।
१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु ।
२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ’भिजनरी’ राजा रहेछन् ।
३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।
४. राजा ज्ञानेन्द्रले पनि २०६२÷०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो ।
५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।
६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो । तर अब यसरी चाहिँ हुँदैन ।
७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ । ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।
कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए । सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा÷बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ÷बित्नेछ भन्नेमा संभवतः उनीहरू अनभिज्ञ थिए ।
म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।
टिप्पणीहरू