सरकारले घुँडा टेक्ने राप्रपाको दाबी, अमेरिकामा कालोझण्डा देखाइएकोमा धवल खुशी

सरकारले घुँडा टेक्ने राप्रपाको दाबी, अमेरिकामा कालोझण्डा देखाइएकोमा धवल खुशी

राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारलाई घुँडा टेकाउन १० दिने आन्दोलन गर्ने भएको छ । पार्टी महामन्त्री धवलशमशेर राणाले पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै नयाँ आन्दोलनको उद्घोष गर्ने क्रममा उक्त दाबी गरेका हुन् । 

राणाले वर्तमान सरकारलाई ‘नालायक सरकार’को संज्ञा दिँदै भने, ‘अबको हाम्रो आन्दोलन, एक दिनको हुँदैन । सातदेखि १० दिनको आन्दोलन गरेर, पूरै ठप्प पारेर घुँडा टेकाएर मात्र हाम्रो आन्दोलनले विश्राम लिन्छ ।’ उनले इतिहासमै पहिलो पटक नेपालका प्रधानमन्त्रीलाई विदेशमासमेत जनताले कालो झण्डा देखाउनुपर्ने अवस्था आएको बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै, ‘हाम्रो देशको कार्यकारी प्रमुख विदेश गएको बेला त्यहाँ पनि हाम्रै नेपाली जनताले कालो झण्डा देखाएर नाराबाजी गरे, यो इतिहासमै पहिलो पटक भयो ।’

परिवर्तनको लागि अब नेपाली जनता नयाँ आन्दोलन गर्ने मनस्थिति पुगिसकेको उनको जिकिर छ । ‘प्रधानमन्त्रीले टुँडिखेलमा भाषण गर्दा जनताले भगाउन खोज्छन्, कार्यक्रममा जाँदा फर्केर जा भन्छन्, अब यो देश बनाउनको लागि जनताले आन्दोलन गर्ने मनस्थितिमा पुगिसकेका छन्’, उनले थपे । 

राणाले देशको उन्नती र प्रगति चाहनेहरु अब एक ठाउँमा उभिएर आन्दोलन गर्नुपर्ने पनि बताए । भने, ‘यो देशमा परिवर्तन चाहने, सनतान हिन्दु राज्य चाहने, राजसंस्था चाहने, भ्रष्टाचारीलाई जेलमा हाल्न चाहने, देशलाई उन्नलीमा लान चाहनेहरु एकजुट भएर आन्दोलन गर्नुपर्छ, अलग अलग आन्दोलन गरेर हुँदैन ।’

टिप्पणीहरू