निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान
सुन्नुहोस्

आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम उक्त प्रयोजनका लागि आह्वान गरिएको छ । 

भोलिदेखि असोज १६ गतेसम्म कार्यालय समयमा दल दर्ताका लागि निवेदन पेश गर्नुपर्ने छ । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा आयोगको केन्द्रीय कार्यालय कान्तिपथ, काठमाडौंमा दल दर्ता गर्नुपर्ने छ ।  

निवेदनमा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खाता पनि खुलाउनुपर्ने छ । 

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को वार्षिक लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरेको हुनुपर्ने छ । तर, उक्त वर्ष एकीकरण भई नयाँ कायम भएका दलले लेखापरीक्षण प्रतिवेदन पेश गर्दा गाभिनुअघिका दलको विवरणसमेत देखाउनुपर्छ । 

आर्थिक वर्ष २०८०/०८१ मा गाभिएर नयाँ कायम भएका दलले भने आव २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलगअलग रहेका दलको वार्षिक लेखा प्रतिवेदन प्रतिवेदन पनि बुझाउनुपर्ने आयोगले जनाएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले रिक्त ३९ पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

टिप्पणीहरू