थापाथली पुगेर कान्तिपुरसँग लड्ने रविको घोषणा

थापाथली पुगेर कान्तिपुरसँग लड्ने रविको घोषणा
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर दैनिकलाई आफ्ना सबै पत्रकार तयारी अवस्थामा राख्न चुनौती दिएका छन् । आफू कान्तिपुरसँग कुरा गर्न आउन लागेको उल्लेख गर्दै उनले भएभरका पत्रकार र प्रश्न ठीक पारेर राख्न भनेका हुन् ।

केही बेरअघि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले थापाथलीस्थित कान्तिपुरको कार्यालय प्राङ्गण वा सार्वजनिक स्थलमा अन्तरवार्ता गरी सोको ‘लाइभ’ गर्ने व्यवस्था मिलाउन च्यालेन्ज गरेका छन् । कान्तिपुरमा आज प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै उनी यसरी खनिएका हुन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले कान्तिपुरलाई चेतावनी दिँदै अत्याचारविरुद्ध लड्ने घोषणासमेत गरे । ‘अब सरकारले जवाफ दिनुपर्छ, कान्तिपुरलाई खुशी नपारी बाँच्न नपाइने हो ? तिम्रो मालिक कान्तिपुर होला, मेरा मालिक जनता हुन् । समिति, प्रहरी, अदालतभन्दा कान्तिपुर ठूलो हो ठीक छ । म कान्तिपुरसँग कुरा गर्न आउँछु’,सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘आफ्ना भएभरका पत्रकार र प्रश्न ठीक पारेर राख्नु । सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा वा सार्वजनिक स्थानमा लाइभ गर्ने व्यवस्था गर्नु । परेको जिम्मा सरकारले र कान्तिपुरले लियोस् । यो अत्याचारविरुद्ध म लड्छु ।’

उनले आजै सो समाचारको खण्डन गर्न र कान्तिपुरलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । कान्तिपुरको आज प्रकाशित पत्रिकाको ‘फ्रन्ट पेज’ मा सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वडिआजी छविलाल जोशीको बयानसँग सम्बन्धित समाचार छ । ‘प्रहरीमा छविको बयानः गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’,शीर्षकको समाचार झूठो भएको रविको दाबी छ । 

उनले भनेका छन्,‘हिजो राति दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ । आजै छापी पनि सकेछ । बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएकोजस्तै फेरि ? संसदीय समितिमा छविलाल जोशीको बयानको मसी सुकेको छैन । महिना दिनअघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन् । कान्तिपुरको नियतबारे त मैले फेरि भनिराख्नु परेन । गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने, फेरि माफी माग्ने ।’

त्यस्तै, आफ्नो छवि सक्काउन खोज्दा कान्तिपुर आफैं सक्किएको उनको जिकिर छ ।

टिप्पणीहरू