पोखरा हिंडेका गृहमन्त्री टावरमा

पोखरा हिंडेका गृहमन्त्री टावरमा
सुन्नुहोस्

गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन् । 

पोखरा जाने पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान विमानस्थल पुगेका उनले छड्के निरीक्षण गरेका हुन् । गृहसचिव गोकर्णमणि दवाडीसहित सुरक्षाकर्मीको टोली लिएर बिहान साढे ७ बजे गृहमन्त्री एयरपोर्ट पुगेका थिए । त्यसक्रममा उनले अध्यागमन र कन्ट्रोल रुमको अवलोकन गरेको बताइएको छ। 

गृहमन्त्री लेखकसहितको टोलीलाई अध्यागमन अधिकृतले स्वागत गरेका थिए । पौने घण्टासम्म कुर्दा पनि अध्यागमन प्रमुख सुरेश पन्थी कार्यालयमा उपस्थित नभएपछि अधिकृत तहका एक कर्मचारीले मन्त्रीलाई स्वागत र ब्रिफिङ गरेको विमानस्थल स्रोतले जनाएको छ ।

बताइएअनुसार अध्यागमनको समग्र स्थितिबारे मन्त्रीलाई प्रिजेन्टेसन गर्ने कार्यक्रम थियो । तर, कार्यालय प्रमुख उपस्थित नहुँदा अन्तिममा मौखिक जानकारी गराइयो । पौने घण्टा कुर्दा पनि हाकिम नआउँदा मन्त्री लेखकले 'ल भैगो के-के छ मौखिकै भन्नुस्' भनेपछि अध्यागमन अधिकृतले ब्रिफिङ गरेको बताइएको छ । मन्त्री र सचिवलाई कुराएका पन्थी भने साढे १० बजेतिर ब्रिफिङ सक्किने बेला पुगेका थिए । 

त्यसक्रममा अध्यागमनमा कार्यालय सहयोगीहरु धेरै थुप्रिन खोज्ने तर अफिसरहरु आउन नचाहने विद्यमान अवस्थाबारे ड्युटीमा खटिएकाहरुले अवगत गराएका थिए । ब्रिफिङ सुनिसकेपछि गृहमन्त्री लेखकले अध्यागमनको छवि राम्रो नभएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिए । 

अध्यागमनको अनुगमनपछि गृहमन्त्रीलाई सिधै सिसिटिभी रुम पुर्याइयो । भन्सार क्षेत्रको अवस्था हेर्न चाहेका उनलाई नेपाल प्रहरीका डिआइजी किरण राणाले भर्याङ चढाएर सिधै सिसिटिभी रुममा लगेकी थिइन् । फर्किने बेला यात्रुसँगै झर्न खोजेका मन्त्रीलाई भीआइपीबाट झारिएको थियो । 

विमानस्थल भन्सार एरियाको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई छ । तर,डिआइजी राणाले सशस्त्रको भूमिकालाई न्यूनीकरण गर्न गृहमन्त्रीलाई त्यसरी रोकेको अनुमान केहीले गरेका छन् ।

टिप्पणीहरू