वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान टिकट थप तीन कार्यालयबाट

वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान टिकट थप तीन कार्यालयबाट

नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका टिकट थप तीन कार्यालयबाट खरिद गर्न सकिने भएको छ । हाल काठमाडौंबाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री हुँदै आएकोमा अबदेखि विराटनगर, पोखरा र नेपालगञ्जबाट समेत लिन सकिने बताइएको छ ।

निगम प्रवक्ता रमेश पौडेलका अनुसार यसको प्रभावकारी कार्यान्वयनका लागि कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् । ‘आगामी बडा दशैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा र सोपश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस् भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्जस्थित कार्यालयबाट समेत वितरण गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न सम्बन्धित विभागीय प्रमुखहरुलाई निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विशेष निर्देशन दिएका छन्,’ विज्ञप्तिमा उल्लेख छ । 

अहिले यात्रुले आफ्नो मोबाइल वा निगमको वेबसाइटबाट अनलाइन टिकट लिन सकिने व्यवस्था छ । त्यसबाहेक उपत्यकाका प्रमुख शहरबाट समेत सेवा दिँदा थप प्रभावकारी ढंगले टिकटिङ्ग सेवा पुग्ने निगमको विश्वास छ ।

टिप्पणीहरू