उपनिर्वाचनमा मंसिर २ गते उम्मेदवारी मनोनयन, ५ गते चुनाव चिन्ह

उपनिर्वाचनमा मंसिर २ गते उम्मेदवारी मनोनयन, ५ गते चुनाव चिन्ह

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । जसअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । 

सोही दिन बेलुकी ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । 

सोही दिन दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुकी ५ बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिने छ । बेलुकी ५ बजेदेखि ६ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ ।

मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ । मंसिर १३ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरिएको छ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले रिक्त ३९ पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

टिप्पणीहरू