तथ्यमा टेकेर नीति बनाइनुपर्नेमा सभामुखको जोड

तथ्यमा टेकेर नीति बनाइनुपर्नेमा सभामुखको जोड

सभामुख देवराज घिमिरेले राज्यको नीति बनाउँदा तथ्य र प्रमाणका आधारमा बनाइनुपर्नेमा जोड दिनुभएको छ। 

नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले त्यस्तो विचार व्यक्त गर्नुभएको हो । संघीयताको नयाँ अभ्यासमा रहेकाले प्रमाण र तथ्यका आधारमा राज्यका नीति तर्जुमा हुनु जरुरी रहेको सभामुखले बताउनुभयो । 

संघीयताबारे अहिले भैरहेका बहस तथ्यका आधारमा भन्दा भावनामा केन्द्रित रहेको आसयमा उहाँले भन्नुभयो, ‘संघीयताको नौलो अभ्यास गरिरहेको हाम्रो मुलुकमा प्रमाण र तथ्यका आधारमा नीति बनाउन जरुरी हुन्छ । संघीयताबारे भएका बहस पनि केवल भावनामा होइन, तथ्यका आधारमा हुनुपर्छ ।'

कुनै एक सरकारका लागि मात्रै नभइ सिंगो राष्ट्रका लागि नीति बन्नुपर्नेमा सभामुख घिमिरेको विशेष जोड छ । एउटा सरकारले बनाएको नीति अर्को सरकार आउने बित्तिकै तोडिने परम्परा सुखद् नरहेको उहाँले बताउनुभयो । 

सभामुख घिमिरेले मुलुकको नीति बनाउन सहयोग गर्ने महत्वपूर्ण र गहन कार्यक्षेत्र भएको प्रतिष्ठानलाई सरकारले आर्थिक बोझको रुपमा लिनु नहुने पनि स्पष्ट धारणा राख्नुभएको छ । संघीयताको सबलीकरण, आर्थिक सशक्तिकरण, कृषि, व्यापार तथा लगानी, वैदेशिक नीति, पर्यटन नीति, वातावरण, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रको नीति निर्माणमा योगदान दिन प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो ।

टिप्पणीहरू