रवि लामिछानेको मुख्यालयमा ‘खबरदारी’ को तयारी

रवि लामिछानेको मुख्यालयमा ‘खबरदारी’ को तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि पत्रकार सम्मेलन गर्ने भएको छ । काठमाडौंको वनस्थलीस्थित पार्टी मुख्यालयमा दिउँसो ४ बजे सम्मेलन गर्ने जानकारी दिइएको छ । 

उपसभापति डा.स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मुलुकमा विकसित राजनीतिक घटनाक्रमलगायत विषयको जानकारी गराइने बताएका छन् । चीन भ्रमण छोट्याएर आज स्वदेश फर्केपछि विमानस्थलमा वाग्लेले पार्टी सभापति पक्राउको दुस्साहस नगर्न सरकारलाई चेतावनी दिए । उनले खबरदारीका लागि भोलि पत्रकार सम्मेलन गर्न लागेको पनि बताए ।

उनले आफ्नो पार्टीका नेताहरुको चीन भ्रमण फलदायी भएको उल्लेख गरेका छन् । ‘चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीको १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर आज स्वदेश फिर्ता भइएको छ । रास्वपालाई नेपालको उदीयमान शक्तिको रुपमा परिपक्व मान्यता र उच्च सम्मान दिइएको उनले लेखेका छन् ।

अगाडि भनिएको छ, ‘व्यक्तिगत तहमा आत्मविश्वास र सन्तोष, पार्टीका लागि ऐतिहासिक र राष्ट्रका आँखाबाट अत्यन्तै फलदायी रह्यो यो भ्रमण । शुरुमा नौ दिनको तालिका तय भए पनि नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण बसाइ छोट्याउने निर्णय गरेका थियौं । बाँकी भोलि ४ बजे,प्रेस सम्मेलन, पार्टी मुख्यालय,वनस्थली ।’

गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पार्टी सभापति रवि लामिछानेसमेतलाई कारबाही प्रक्रिया अघि बढाउनुपर्ने भनी सहकारी छानबिनसम्बन्धी संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको छ । सोही आधारमा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीलाई काठमाडौंमा पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि पोखरा लगिएको छ । 

जोशी समातिएपछि लामिछाने पनि पक्राउ पर्ने परिस्थिति उत्पन्न भएसङ्गै रास्वपा सांसदहरु भ्रमण छोट्याएर फर्किएका हुन् ।

टिप्पणीहरू