प्रधानमन्त्रीद्वारा राष्ट्रसंघीय महासभामा सम्बोधन, टिआरसी पारितबारे विश्वलाई जानकारी

प्रधानमन्त्रीद्वारा राष्ट्रसंघीय महासभामा सम्बोधन, टिआरसी पारितबारे विश्वलाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गर्दै सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका विभिन्न चरणको व्याख्या गर्नुभएकोछ । उहाँले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको पनि महासभालाई अवगत गराउनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सोही क्रममा उहाँले भन्नुभयो, ‘विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको छ । तसर्थ जलवायु न्यायको लाभ नेपालले पाउनुपर्यो ।’

उहाँले राष्ट्रसंघीय शान्ति अभियानमा नेपालको चर्चा गर्नुभएको छ । सेना र प्रहरीका हिसाबले नेपाल सबैभन्दा ठूलो योगदानकर्ता भएकाले आगामी दिनमा थप वृद्धिका लागि तयार रहेको महासभालाई जानकारी गराउनुभएको छ ।

उहाँले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव विकासका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गर्नुभएको छ ।

महासभामा प्रधानमन्त्री पत्नी तथा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।

टिप्पणीहरू