पूर्वमन्त्रीका भाइसँग दोहोरो नागरिकता
रुकुम पश्चिमबाट झुटा विवरण पेश गरेर दोहोरो नागरिकता लिने एक व्यक्ति समातिएका छन् । ती पात्र सानीभेरी गाउँपालिका ११ जन्मघर भई हाल बाँफिकोट गाउँपालिका वडा नम्बर ३ कोलचौरमा बसाइँसराई गरी बस्ने ५४ वर्षीय देवविक्रम सिंह शाह हुन् ।
माओवादी केन्द्रका नेता एवं पूर्व युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजका सहोदर दाइको पक्राउ र अनुसन्धान प्रक्रियामा पर्दा भाइले भने कुनै पनि सोधपुछ, चासो तथा दवाव दिएका छैनन् । उनी माओवादी जनयुद्धका कुशल कमाण्डर, वैचारिक र सालिन नेताको रूपमा चिनिन्छन् । उनको परिवार बाँकेको नेपालगञ्जमा बस्ने गरेको छ । प्रहरी निरीक्षक बखतबहादुर शाहीले वडा कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयमासमेत झुटा विवरण पेश गरेर दोहोरो नागरिकता लिएको आरोपमा शाहलाई पक्राउ गरिएको जनाए ।
जिल्ला प्रशासन कार्यालयकाअनुसार शाहले यसअघि पनि नागरिकता लिइसकेको अभिलेखबाट देखिन्छ । २०४५ साल साउन १६ गते साबिक जिल्ला प्रशासन कार्यालयबाट दलबहादुर बिकको नाममा नागरिकता लिइसकेका छन् । बुवासहितको परिवार बाँके बसाइँसराइ गरेर गएपछि रोजगारीका लागि उनीहरू लामो समयसम्म भारत बसेको खुल्न आएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भारतको लामो बसाइ, छोराछोरीको शिक्षा दीक्षाका क्रममा उनले आफ्नो नाम बदलेर देवविक्रम सिंह राखेको र भारतीय आधार कार्डलगायत प्रमाणमा सोही नाम कायम गरेको बताए । यस क्रममा श्रीमती कौशिला बिक गहतराजले बाँके प्रशासनबाट थर संशोधन गरेर कौशिला शाह कायम गरेकोसमेत खुलेको छ ।
छोरीछोरीको नागरिकता बनाउने क्रममा उनले दोहोरो नागरिकता लिएको पत्ता लागेको हो । छोराछोरीको नागरिकताको लागि पेश गरिएको आमाको अभिलेख बुझ्ने क्रममा उनका श्रीमान् र ससुराको विवरण खुलेको र त्यस क्रममा शाहले पहिला नै नागरिकता लिइसकेको खुलेको हो । थर संशोधन गर्न पाउने कानूनी व्यवस्था हुँदाहुँदै फरक–फरक नाममा नागरिकता लिनुको कारण, श्रीमतीको नागरिकता बनाउने क्रममा समेत किर्ते प्रमाण बनाएको हुनसक्ने लगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू