भगवानको भेटी गोजीमा भटाभट

भगवानको भेटी गोजीमा भटाभट

सामान्यतयाः मठमन्दिर तथा धार्मिक स्थलमा पूजाअर्चनाको निम्ति पुग्ने भक्तजनले आफूखुशी दान भेटी चढाउँछन् । यसरी जम्मा भएको रकम मन्दिरकै व्यवस्थापन,संरक्षण, प्रवर्धन र सेवा सुविधामा खर्च गरिन्छ । तर,मन्दिर व्यवस्थापन समितिकै सदस्य र प्रशासनका कर्मचारीले भेटीस्वरूप संकलित रकम गोजीमा हाले अवस्था के होला ?

दक्षिणी भारतको बेंगलुरु, बायटारायणपुरस्थित गाली अञ्जनेय मन्दिरमा चलिरहेको लुटधन्दा पर्दाफासको एउटा भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । मन्दिर व्यवस्थापन समितिको उपस्थितिमा प्रशासनका कर्मचारीले दान तथा भेटी रकम गनिरहेको भिडियोमा देखिन्छ । 

त्यत्तिकैमा प्रशासनकै कर्मचारीले सबैको आँखा छलेर पैसाको बिटो अर्को व्यक्तिलाई दिन्छन् । कतिसम्म भने,यो काममा पुजारी पनि संलग्न रहेको देखिन्छ । एक जना पुजारीले पैसाको बिटो ढाडको पछाडि भागमा लुकाएर अर्को पुजारीलाई दिएको देखिन्छ । भिडियोले उक्त मन्दिरमा भक्तजनहरुको पैसा लुटिएको भन्ने आशंकालाई प्रमाणित गरेको छ । 

भिडियो सामाजिक सञ्जालमार्फत् विश्वव्यापी रुपमा भाइरल भएपछि मन्दिरका प्रमुख पुजारी रामचन्द्रले एक वर्षअघिको घटना भनेका छन् । उनका अनुसार घटनामा संलग्न व्यवस्थापन समितिका दुई जना सदस्य र प्रशासनका दुई कर्मचारीलाई कारबाही गरिसकिएको छ । 

भारतीय सञ्चारमाध्यमसँग उनले भनेका छन्, ‘यो एक वर्षअघिको घटना हो । त्यतिबेलै छानबिन गरेर कारवाही गरिएको थियो । दुई जना पुजारी,जो व्यवस्थापन समिति सदस्य थिए । अरु दुई जना कर्मचारी (एक प्रशासन हेर्ने र एक भान्सा हेर्ने)लाई निलम्बन गरेर मन्दिरमा सधैँका लागि प्रतिबन्ध लगाइएको छ ।’

त्यसो त,भिडियो भाइरल भएपछि भक्तजनले आफूहरुको पैसामा लुटधन्दा चलाउने चारै जनामाथि कानुनी कारबाहीको माग गर्दै आवाज उठाएका थिए । गतसाता चारै जनाविरुद्ध एफआइआर दर्ता गरेर अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

टिप्पणीहरू