पुण्यलाई राति टाउकोमा हान्नेहरुको अझै छैन अत्तोपत्तो

पुण्यलाई राति टाउकोमा हान्नेहरुको अझै छैन अत्तोपत्तो

सामाजिक सञ्जालमा अन्टसन्ट बोलेर चर्चामा आएका पुण्य गौतममाथि निर्मम कुटपिट भएको छ । हिजो राति घर फर्कंदै गर्दा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थित बेसीगाउँमा अज्ञात समूहले उनीमाथि आक्रमण गरेको हो । 

आक्रमणबाट गौतम गम्भीर घाइते भएका छन् । उनको टाउकोमा रड प्रहार गरिएको र शरीरभरी चोट लागेको प्रहरीले जनाएको छ । 

गौतमको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार टाउकोमा दर्जनभन्दा बढी टाँका लगाइएको छ र अहिले आइसीयुमै राखिएको छ । 

‘हिजो राति उहाँ घर फर्कँदै गर्दा आक्रमण भएको रहेछ’, एसपी अधिकारीले जनआस्थासँग भने, ‘९:१२ बजे केही व्यक्तिले रडले हानेछन् ।’

गौतममाथि कसले रड प्रहार गरेको हो भन्ने अहिलेसम्म खुलेको छैन । सिसिटिभी फुटेजका आधारमा आक्रमण गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

आफूलाई सामाजिक अभियन्ता भनाउने गौतम एमाले नेता पनि हुन् । पहिले माओवादीमा लागेका उनी केही वर्षअघि सार्वजनिक कार्यक्रममा केपी ओलीलाई ढोगेर एमाले प्रवेश गरेका थिए ।

टिप्पणीहरू