राजधानीमा निषेधित क्षेत्र तोड्ने तयारी, दशैंमा पनि आन्दोलन जारी

राजधानीमा निषेधित क्षेत्र तोड्ने तयारी, दशैंमा पनि आन्दोलन जारी

बाँकेकी निर्मला कुर्मीको हत्याको मुख्य अभियुक्त भनिएका नेपाली काँग्रेस लुम्बिनीका नेता बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका अधिकारकर्मीहरुले निषेधित क्षेत्र तोड्ने घोषणा गरेका छन् । 

आज साँझ ६ बजेदेखि अनिश्चितकालका लागि सिंहदरबारदेखि संसदीय भवनसम्म निषेधित क्षेत्र तोड्ने चेतावनी दिइएको छ । आन्दोलनको नेतृत्व गरिरहेकी अधिकारकर्मी रुबी खानले सामाजिक सञ्जालमार्फत् सरकारलाई विजयादशमीको शुभकामना दिँदै उक्त जानकारी गराएकी छन् ।

दशैंमा पनि आन्दोलन जारी राख्ने उल्लेख गर्दै उनले आफूहरुलाई मागेर खाने अवस्थामा पुर्याएकोमा सरकारलाई धन्यवाद दिएकी छन् । ‘न्यायको आन्दोलनलाई मर्न नदिई हामी एक छाक मागेर खाने गरेका छौं । अब दुवै छाक खाना माग्नुपर्ने अवस्था बनाउने सरकार तपाईंलाई बडा दशैंको हार्दिक शुभकामना छ’,उनले लेखेकी छन्,‘आज साँझ ६ बजेदेखि सिंहदरबारदेखि संसदीय भवनसम्म निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा गर्दछौं । न्यायको यो शान्तिपूर्ण आवाजलाई लत्याई हामीलाई जेल हाल र तिमीहरु च्याग्राको मासुभातमा मौज गरेर बस सरकार तपाईंलाई बडादशैंको हार्दिक शुभकामना छ ।’

पाँचौं चरणको आन्दोलन गर्दासम्म आफूहरुलाई न्याय नदिएर सरकारले ऋणमा डुबाएको उनको भनाइ छ । भनेकी छिन्,‘हामीलाई डेंगु र टाईफाईडले ग्रस्त गर्ने रुघाखोकी, ज्वरो आई अहिले औषधीसमेत गराउन नसक्ने अवस्थामा पुर्याउने सरकार तपाईंलाई बडा दशैंको हार्दिक शुभकामना छ । हामीलाई चौंथो चरणको र पाँचौं चरणको आन्दोलन गर्न बाध्य बनाई जबरजस्ती ऋणमा डुबाउने सरकार तपाईंलाई बडा दशैंको हार्दिक शुभकामना छ ।’

गत जेठ २५ गतेदेखि धर्नामा बसेका उनीहरुले यसअघि पनि पटकपटक आन्दोलन गरिसकेका छन् । सरकारले बारम्बार न्यायका लागि वार्ता–सहमति गरेपनि अहिलेसम्म न्याय नपाएपछि पुनः आन्दोलनमा उत्रिनुपरेको गुनासो छ ।

टिप्पणीहरू