प्रधानमन्त्रीको अध्यक्षतामा बसेको एमाले बैठकले गर्यो सरकारलाई यस्तो आग्रह

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको एमाले बैठकले गर्यो सरकारलाई यस्तो आग्रह

सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपद्बाट घरवास गुमाएका १० हजार परिवारलाई छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले सरकारलाई घच्घच्याउने निर्णय गरेको हो । विपद्बाट प्रभावित परिवारलाई छिटो भन्दा छिटो घर बनाउने व्यवस्था मिलाउन ओलीसहित बसेको बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । 

पुनर्वासका लागि सचेत गराएको एमालेले विपत् प्रभावितको उद्धारमा भने सरकारको भूमिकाप्रति सन्तुष्टि जनाएको छ । उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको क्षमताअनुसार खोज तथा उद्धार कार्य भएको दाबी गरे । 

प्राकृतिक प्रकोप र सरकारको क्षमताबीचको ग्यापले केही असहज परिस्थिति सिर्जना भएको स्वीकार गर्दै उनले त्यसमा आमनागरिक पनि दोषी रहेको बताए  । 

‘सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरेको छ । प्राकृतिक प्रकोप र सरकारको भोलुमको बीचमा ग्याप त हुँदो नै रहेछ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारीहरु सबै खट्नुभएको छ । तर, मौसम विज्ञहरुले मुसलधारे वर्षा हुने अनुमान गर्नुभएको थियो । त्यसलाई मध्यनजर गरेर सरकारले सतर्क रहन सूचना दिएको हो । कति कुरामा नागरिकहरुको सजगतामा कमी पनि भयो ।'

टिप्पणीहरू