हेडक्वार्टरको मौलोमा प्रहरी महानिरीक्षकको संकल्प, वरिष्ठ अधिकृतहरू परिक्रमामा

हेडक्वार्टरको मौलोमा प्रहरी महानिरीक्षकको संकल्प, वरिष्ठ अधिकृतहरू परिक्रमामा

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हेडक्वार्टर हातामा रहेको मौलोमा संकल्प पूजा गरेका छन् । बडा दसैँका अवसरमा नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजा र संकल्प गर्ने चलन छ । 

सो क्रममा महानिरीक्षक कुँवरले बली पूजा गर्दै निशानमा पञ्जा छापसमेत लगाएका छन् । सो अवसरमा विशेष कार्य गरेका प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारूलाई नगद पुरस्कार प्रदान गरिएको छ । 

महानिरीक्षकले पूजा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेको बताइन्छ । पूजा बिसर्जनपछि निशान मूलकोत हनुमानढोका पठाइएको छ ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिन्ह अंकित छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित छ । नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष बडा दशैँ र चैते दशैँमा मौलो पूजा गर्दै आएको छ ।

टिप्पणीहरू