फिल्म हटाइएपछि निश्चल बस्नेत ‘फायर’, निकाले आलुको सन्दर्भ

फिल्म हटाइएपछि निश्चल बस्नेत ‘फायर’, निकाले आलुको सन्दर्भ

निर्देशक तथा अभिनेता निश्चल बस्नेत चलचित्र क्षेत्रमा हक्की स्वभावका पात्रले परिचित छन् । खरो विचारका उनको सिनेबृत्तमा मित्र र दुश्मनको अनुपात बराबर रहेको बताइन्छ । 

परम्परागत नेपाली चलचित्र निर्माण शैलीमा फिल्म लुटमार्फत ब्रेक गरेका उनै निश्चल केही दिनयता हल सञ्चालकसँगको टसलले निकै आक्रोशित देखिन्छन् । 

हिजोआज उनी अभिनित चलचित्र ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनमा छ । तर, चलचित्रले राम्रो अकुपेन्सी पाउँदासमेत ‘शो’ घटाएको भन्दै निश्चलले भोलिदेखि हलबाट फिल्म उतार्ने घोषणा गरेका छन् । त्यसको सट्टा ओटीटी प्ल्याटफर्म एमएसएम भिडियो डाउनलोड गर्न उनले दर्शकलाई आग्रहसमेत गरेका छन् । 

यस्तो छ, निश्चल रिसाउनुको कारण 

पहिलोपल्ट निश्चल शीर्ष भूमिकामा रहेको र स्वस्तिमा खड्का निर्माता रहेको चलचित्र हो, ‘बेहुली फ्रम मेघौली’ । साढे तीन करोडमा बनाइएको भनिएको यो चलचित्र घटनास्थापनाको दिनदेखि प्रदर्शनमा आएको छ । साढे तीन सय पर्दामा प्रदर्शन गरिएको फिल्मले एक हप्ता उत्साहजनक व्यापार गरेको देखिन्छ । 

तर, फूलपातिका दिन अन्य तीन ठूला नेपाली चलचित्र थपिए, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाब’ । त्यसपछि शो र हल बाँडिनु स्वाभाविक हो । यसलाई निश्चलले पनि सामान्य रुपमा लिए । तर, अस्तिबाट देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन भइरहेको पर्दामा हिन्दी चलचित्र लगाइदियो । जब कि ‘बेहुली फ्रम मेघौली’को अकुपेन्सी सुखद नै रहेको दाबी निर्माता पक्षको छ । 

त्यसपछि निश्चलले आक्रोश पोख्दै भने, ‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईहरु चाहीँ त्यै हिन्दी फिल्मलाई शो दिइराख्नुस् है अकुपेन्सी आलु हुँदा पनि । म चै हलको विकल्पतिर लागेँ ।’

अस्ति विकल्प खोज्ने बताएका निश्चलले आज एमएसएम भिडियोको विकल्प दिएका छन् । अर्थात् अब उक्त एपमार्फत दर्शकले नयाँ चलचित्र हेर्न पाउनेछन् । 

विकल्प बन्ला ओटीटी ?

हलिउडमा ओटीटीको संस्कार स्थापित भएको धेरै भइसक्यो । नेटफ्लिक्स, एमाजोन प्राइम, डिज्नी, एप्पलटिभीलगायतका ओटीटी प्ल्याटफर्मले निर्माताको लगानीलाई करिब–करिब सुरक्षित गरेको देखिन्छ । जसकारण निर्माताले अर्को चलचित्र बनाउन जोखिम ठान्दैनन् । 

बलिउडमा पनि ओटीटीको प्रचलन शुरु केही वर्षदेखि भइसकेको छ । यद्यपि ठूला ब्यानरले अझै हलको साथ छोड्न सकेका छैनन् । दुई–तीन सय करोडमा बन्ने चलचित्रले ओटीटीबाट लगानी सुरक्षित राख्न सक्छ ? प्रमाणित भइसकेको अवस्था छैन । यसका बाबजुद केही ठूला सिरिज भने ओटीटीमै प्रदर्शन भइसकेका छन् । 

नेपालमा ओटीटी कत्तिको सम्भावना देखिन्छ ? यो चासोको प्रश्न बनेको छ । केही वर्षअघि सिनेमा घर र नेपलिक्स नामक दुई ओटीटी प्ल्याटफर्म सञ्चालनमा आएका थिए । तर, त्यसमा नयाँ चलचित्र र दर्शकको उपस्थिति शून्यजस्तै भयो । 

परीक्षणकै रुपमा लिने हो भने पनि यी दुई ओटीटी प्ल्याटफर्म असफल भए । चलचित्र हेर्न दर्शकको संख्या, रुची, हाम्रो भौगोलिक अवस्था, इन्टरनेटको पहुँच, प्रतिष्ठित र सहुलियत प्ल्याटफर्मसँगको प्रतिस्पर्धालगायत यसको मुख्य कारण देखिन्छ । 

अब यहाँ निश्चलले भनेजस्तै एमएसएम भिडियोमा चलचित्र त राखिएला, तर शुल्क तिरेर हेर्ने दर्शक कति आउँछन् त ? यसको भने केही पूर्वअध्ययन भएको पाईंदैन । दर्शकलाई ओटीटी प्ल्याटफर्ममा पुर्याउन पूर्वतयारी नगर्दासम्म निश्चलले पनि रहर पूरा मात्रै गर्न लागेको त हैनन् ? सिनेबृत्तमा चर्चा छ । 

हल सञ्चालकलाई चुनौती दिएर ओटीटीको विकल्प खोज्ने निश्चलको जोखिमपूर्ण साहसलाई नजरअन्दाज गर्न भने मिल्दैन । गत वर्ष उनकै कारण नेपाली चलचित्रको इतिहासमा शेयर बाँडफाँडको विवादमा पूर्णविराम लागेको थियो । 

त्यतिबेला चलचित्र प्रर्दशनको अन्तिम समयसम्मको आम्दानीबाट ५० प्रतिशत निर्माताले पाउनुपर्ने अडान लिएका उनले प्रदर्शनरत ‘दिमाग खराब’ रोकेर हल मालिकको दिमाग खराब गरेका थिए । त्यसपछि हल सञ्चालकहरुले बाध्य भएर ५० प्रतिशतको सहमतिमा हस्ताक्षर गरेका थिए ।

त्यसयता प्रदर्शनमा आएका चलचित्रले आम्दानीको ५० प्रतिशत नै पाइरहेका छन् ।
 

टिप्पणीहरू