मारवाडीहरुद्वारा अदालती आदेशको अवज्ञा, प्रहरी नियन्त्रणमा डोजर

मारवाडीहरुद्वारा अदालती आदेशको अवज्ञा, प्रहरी नियन्त्रणमा डोजर

मारवाडीहरुले हडपेको गौशालास्थित पशुपति धर्मशाला खालि गराउन त्यहाँ पुर्याइएका दुइवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ । 

आज अपराह्न पौने ५ बजेतिर धर्मशालाअन्तर्गत गाईपालन गरिएको भवनको भित्तो भत्काउन लगिएका डोजरलाई प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको हो । ती डोजरलाई प्रहरी वृत्त गौशाला अगाडि राखिएको छ ।

धर्मशालाको जग्गा खालि गराउने विषयमा काठमाडौँ महानगर र मारवाडी समुदायबीच विवाद बढेको छ । असोज २३ गते धर्मशाला खालि गराउन पुगेको महानगर प्रहरी टोलीलाई मारवाडी समुदायले अवरोध गरेका थिए । अवरोधबीच धर्मशालाबाट मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरको बोर्ड झुण्डाइएको थियो ।

धर्मशालाबाट सामान हटाउन पुगेको महानगर प्रहरीलाई हिजो पनि मारवाडीहरुले अवरोध गरेका थिए । त्यसपछि महानगरले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै शान्ति सुरक्षा उपलब्ध गराइदिन आग्रह गरेको थियो । तर, स्थानीय प्रशासनले सहयोग नगर्दा आज पनि धर्मशाला खालि हुन नसकेको महानगरेको भनाई छ । 

पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेर मारवाडी सेवा समितिले सस्तो भाडादरमा धर्मशालाको ९ रोपनी ९ आना दुई पैसा जग्गा २१ वर्षदेखि भोगचलन गर्दै आएको थियो । २०८० साउन १७ गते कोषले उक्त सम्झौता खारेज गरेपछि विवाद चर्किंदै गएको छ ।

त्यसविरुद्ध मारवाडीहरुले काठमाडौँ जिल्ला अदालतमा रिटसमेत हालेका थिए । तर, सम्झौता खारेजीको निर्णय अदालतले सदर गरेपछि पनि मारवाडीहरुले धर्मशाला छाड्न मानेका छैनन् ।

टिप्पणीहरू