होटलमा थुनेर सामूहिक बलात्कार, पिङ खेल्न गएकी ८ वर्षे बालिका बलात्कृत

होटलमा थुनेर सामूहिक बलात्कार, पिङ खेल्न गएकी ८ वर्षे बालिका बलात्कृत

बाँकेको कोहलपुरस्थित एक होटलमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 

घटना गत आइतबारको भए पनि बालिकाले हिजो साँझ जाहेरी दिएपछि आज आरोपितहरु समातिएका हुन् । बैजनाथ गाउँपालिका-१ घर भएका निशान रोकाया, डम्मरबहादुर रोकाया, जीवन रोकाया, निर्मल थापा र विजय कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नाबालिका र युवकहरुबीच केही समय पहिले फेसबुकबाट परिचय भएको थियो । आइतबार युवकहरुले खाजा खान होटलमा बोलाएर सामुहिक बलात्कार गरेको बालिकाले बताएकी छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै, दाङमा पनि एक बालिकामाथि बलात्कार भएको छ । राप्ति गाउँपालिका-१ भालुवाङ घर भएकी ८ वर्षीया बालिकामाथि अज्ञात व्यक्तिले जबर्जस्ती करणी गरेको प्राह्रिले जनाएको छ । 

बालिका असोज २४ गते फूलपातिको दिन पिङ खेल्न भनेर घरबाट निस्किएकी थिइन् । तर, साँझ घर फर्कंदा उनलाई परिवारले रगताम्य भेटेपछि घटना बाहिर आएको हो । तर, बलात्कार गर्ने व्यक्ति को हुन् भन्ने खुलेको छैन । 

त्यसदिन घटनास्थल आसपास आवतजावत गर्ने मानिसहरुसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बालिकाको स्वास्थ्य परीक्षणबाट उनी बलात्कृत भएको प्रमाणित भएको छ ।

टिप्पणीहरू