रवि समातिएकोमा विरोध, धनराज र ऋषिकेशलाई तुरुन्त पक्रन माग

रवि समातिएकोमा विरोध, धनराज र ऋषिकेशलाई तुरुन्त पक्रन माग

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै सो पार्टीको भक्तपुर जिल्ला समितिले ज्ञापनपत्र बुझाएको छ । 

जिल्ला संयोजक रामेश्वर बस्नेतले आफ्ना सभापति निर्दोष रहेको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा सरकारले झूठा मुद्दा लगाएर फसाउन खोजेको उनको आरोप छ । 

ज्ञापन पत्रमा वास्तविक सहकारी ठग कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललगायतलाई कारबाही गर्न माग गरिएको छ । 

‘राजनीतिक प्रतिशोधका आधारमा गरिएको राज्य आंतक बन्द गरी निर्दोष पार्टी सभापति रवि लामिछानेलाई तत्काल रिहा गरियोस्,’पत्रमा भनिएको छ, ‘वास्तविक सहकारी ठग धनराज गुरुङ्ग, ऋषिकेश पोखरेललगायत सहकारी ठगीमा हदैसम्मको कारबाही गरी पीडितको रकम तुरुन्त फिर्ता गरियोस् ।’

पत्रमा बाँसबारी, टिकापुर र ललिता निवास प्रकरणसहित भुटानी शरणार्थी काण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ । यस्तै, सत्तासिन दल नेकपा एमाले र ललिता निवास प्रकरणका आरोपित व्यापारी मीनबहादुर गुरुङबीच जग्गा दानमार्फत भ्रष्टाचारजन्य अपराध भएको उल्लेख गर्दै छानबिन गर्न ध्यानाकर्षण गरिएको छ ।

टिप्पणीहरू