रविलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाईंदै

रविलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाईंदै

सहकारी ठगी र संगठित अपराध आरोपमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । 

न्यायाधीश नवराज दाहालको एकल इजलासले उनलाई छ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेका लामिछानेलाई आज दिउँसो अदालतमा पेश गरिएको थियो । 

उनलाई अस्ति काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट सीआईबीको टोलीले पक्राउ गरेर राति नै पोखरा पुर्याएको थियो । हिजोसार्वजनिक बिदा परेकाले आज अदालतमा उपस्थित गराइएको हो ।

उनलाई अदालत लैजानुअघि पोखराको शहिद चोकमा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका थिए । नजिकैको राष्ट्र बैंक चोकमा ठूलो संख्यामा सहकारी पीडितहरु जम्मा भएर रविलाई कारबाही गर्नुपर्ने, आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने नारा लगाएका थिए ।

टिप्पणीहरू