हिरासत एक, आकलन अनेक

हिरासत एक, आकलन अनेक

- कौडिन्य शर्मा

नमस्कार, म रवि लामिछाने ।

यतिबेला मेरो रगत भकभक उम्लेको छ, आगोमा पानी उम्लिएझैँ । तर म शान्त छु, भीरको पहिरोमा परेको सालको रुखझैँ ।

म अहिले कास्की प्रहरीको हिरासतमा छु । कोठा नम्बर १२ मा राखेका छन् । भ्रष्टहरुले संगठित अपराधमा मुद्दा चलाउँदैछन् । बलजफ्ती दोषी करार गरी कारागार चलान गर्न सक्छन् । मेरो करिअर र भविष्य तहसनहस पार्न खोज्दैछन् । तर म तीन करोड नेपाली जनतालाई के अवगत गराउन चाहन्छु भने भ्रष्टाचारविरुद्ध म जीवनको अन्तिम क्षणसम्म लडिरहनेछु  ।

तपार्इंहरुलाई थाहा नहुन सक्छ, बिहीबार बालुवाटारमा शान्ति प्रक्रियासँग सम्बन्धित टिआरसीबारे छलफल गर्न तीन ठूला दलका नेताको भेट भएको थियो । त्यतिबेला माओवादी अध्यक्ष प्रचण्डजीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेरोबारेमा सोध्नुभएछ । जवाफमा उहाँले ‘कारवाहीबाट पछि हटिन्न’ भन्नुभएछ । काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक पनि त्यहिँ थिए ।

प्रचण्डजीले ‘त्यसरी प्रतिशोध नसाध्नुस्’ भनेर सम्झाउँदा पनि ओली टसमस हुन मान्नुभएन । उल्टै भन्नुभयो रे– तपाईंहरु नै होइन र समिति बनाऔँ–बनाऔँ भनेर ढिपी गर्ने । अब तपाईंकै पालमा बनेको समितिको प्रतिवेदनलाई मैले कार्यान्वयन गर्दैछु ।

ओलीले त्यस्तो भन्नेबेला म पनि बालुवाटारमा भएको भए, जानेथे ! थर्काउँदै सोध्थे– तपाईंको हातमा तस्करले दिएको करोडौँको घडी, मेरो हातमा चाहीँ हतकडी ? तपाइं  बिचौलियाको पैसामा लाखौँको चस्मा र जुत्ता लगाउने, अनि मुद्दा मैले खेप्नुपर्ने ? तपाईले प्रमाणित भ्रष्टाचारीबाट खुलमखुल्ला अर्बौ लिने, ठगीको आरोप मैले भोग्नुपर्ने ? तिमीहरुको दुई तिहाईको सरकार जोगाइदिन म बली चढ्नुपर्ने ? तिम्रा पार्टीका नेताहरु मिलेर सहकारीको ८७ अर्ब गोजीमा हाल्ने अनि सहकारी ठग चाहीँ म बन्दिनुपर्ने ?

अहँ । यो हुँदैन प्रधानमन्त्रीज्यू । समितिले टिओआरभन्दा बाहिर गएर तयार पारेको प्रतिवेदन र तपाईंहरुको प्रतिशोधको म कडा प्रतिवाद गर्न चाहन्छु ।

तर, यसो भन्न म बालुवाटारमा थिइनँ ।

मलाई नपक्री नछाड्ने ओलीको मनसाय बुझेपछि प्रचण्डजीले साँझ निवासबाटै फोन गर्नुभयो । ए रविजी, केपी ओलीले बित्यास नै पार्नेभए, यीनको अराजकता रोक्नुपर्यो क्या ! तपाईंलाई जेलमा कोचेरै छाड्नेभए, लौ न भोलि बिहानै भेट्नुपर्यो– कुरा सुनेर डर पनि लाग्यो । एकाएक मुटुको धड्कन बढेर आयो । एकातिर मन डराइरहेको थियो भने अर्कोतिर आफैँलाई हौसला पनि दिइरहेको थिएँ ।

यसकारण डर कि यो सरकारले मलाई नछाड्ने नै भयो । अनि हौसला यस अर्थमा कि माओवादीसहितका प्रतिपक्षी दल र पार्टीका कार्यकर्ता मेरै साथमा छन् । म पक्राउ परे पनि छुटाउन नेता र कार्यकर्ताले देशभर प्रदर्शन गर्नेछन् भन्ने कुरा मलाई थाहा थियो । दुई–चार वटा नारा त मैले नै लेखेर तयार पारिदिएको थिएँ । जस्तो, ‘सरकार मर्यो, जनतालाई जुठो पर्यो’, ‘भाट–भटेनी सरकार मूर्दावाद’, ‘दुई तिहाई पाराले, दुःख पायो साराले’ आदी ।

प्रचण्डजीले बोलाएपछि शुक्रबार बिहान म बानेश्वर गएँ । पार्टीका नेताहरु स्वर्णिम वाग्ले, डिपी अर्याल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ र शिशिर खनाल पनि सँगै हुनुहुन्थ्यो । छलफलमा प्रतिपक्ष दलका अधिकांश नेताहरु थियौँ । सत्ता गठबन्धनमा रहनुभएका महन्थ ठाकुर र रञ्जिता श्रेष्ठ पनि हुनुहुन्थ्यो ।

छलफल गर्दै जाँदा एउटा विन्दुमा प्रचण्डजीले गम्भीर हुँदै भन्नुभयो– केपी ओलीले रविजीलाई निशाना बनाएका छन् । ओली अराजक बनिसके । उनको प्रवृतिले हामीलाई त हानी गर्यो–गर्यो, जनतासमेत हैरानी भइसके । सबै मिलेर रोक्नुपर्यो ।

उहाँले बालुवाटारको कुराकानी हामीलाई सुनाएपछि थाहा भयो कि मविरुद्ध पक्राउ पुर्जी जारी हुँदैछ ।

केही समयपछि बैठकबाट बाहिरिएर मसहित हाम्रो पार्टीका नेताहरु सिधै बनस्थली कार्यालय गयौँ । साथीहरुले अफिसमै खाजा–नास्ता गरे । साँझसम्म प्रहरी पक्राउ गर्न आइपुग्छ भन्ने हामीलाई अनुमान थियो ।

सवा ४ बजेतिर कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको खबर कानमा पर्यो । त्यसपछि हतार–हतार मैले एउटा भिडियो सन्देश रेकर्ड गरेर साथीहरुलाई हाल्दिनु भनेँ । र फेसबुकमा पनि स्टाटस लेखेँ ।

सञ्चार माध्यममा मेरो पक्राउ पुर्जीको समाचार देखेपछि प्रिय जीवनसंगिनी निकिता पौडेल लामिछाने पनि हतार–हतार बूढानीलकण्ठबाट आइन् । एउटा बेकसुर श्रीमान पक्राउ पर्दा श्रीमतीमाथि के बित्छ, त्यो म राम्ररी बुझ्नसक्छु । म जत्ति आत्तिएको थिएँ, त्यो भन्दा बढी उनी आत्तिएकी थिइन् । र पनि मेरो दाहिने हात समात्दै बेला–बेला मलाई हौसला दिन्थिन्– चिन्ता नगर्नुस्, सबै ठीक हुन्छ ।

पार्टी नेताहरु सबै हलमा थिए भने म चाहीँ हल र कार्यकक्षमा ओहोरदोहोर । समग्रमा हामी प्रतिवादको आन्तरिक रणनीति बनाउदै थियौँ । त्यतिकैमा साँझ ५ बजेतिर प्रहरीको टोली कार्यालयमा प्रवेश गर्यो ।

प्रहरी टोलीको नेतृत्व केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी होविन्द्र बोगटीले गरेका थिए । उनी सरासर मेरो कार्यकक्षमा आए र आफ्नो कार्ड देखाए । उनीसँग अन्य केही प्रहरी अधिकृतहरु पनि थिए ।

बोगटीले अदालतले दिएको पक्राउ अनुमति पत्र मेरो अगाडि राखिदिए । मैले पढेँ । हामीले करिब एक घण्टाजति संवाद गयौँ । उनी मसँग शालिनरुपमै प्रस्तुत भएका थिए । त्यसपछि पक्राउ प्रक्रियाका केही कागजातहरुमा मैले हस्ताक्षर गरेँ ।

त्यो हस्ताक्षर गर्दै गर्दा मैले तीन करोड नेपाली जनतालाई भनेको थिएँ– अहिले जुन हातले यो हस्ताक्षर गर्दैछु, त्यही हातले एकदिन यी भ्रष्टहरुलाई जेल हाल्ने पत्रमा हस्ताक्षर गर्नेछु ।

मैले यसो भन्दै गर्दा त्यहाँ उभिएका अन्य नेताहरुले ताली बजाए । केही प्रहरी अधिकारीले मन्द मुस्कान दिएका थिए ।

हुन त प्रहरी हिरासतमा दुई–चार दिन बस्नु मेरो लागि नौलो होइन । पहिले पनि शालिकराम पुडासैनी भाइको कारण जेल गएकै हुँ । तर फरक के छ भने, पहिलेको आरोप व्यक्तिको हत्यासँग जोडिएको थियो भने अहिले संगठित अपराधको छ । जे भए पनि अब म एउटा पार्टीको सभापति हुँ । पूर्व गृहमन्त्री हुँ । मैले धैर्यले काम लिनुपर्ने हुन्छ ।

एक महिना अघि मेरो पक्राउको हल्ला चल्दा क्षणभरमै सयौँ कार्यकर्ता वनस्थलीमा जम्मा भएका थिए । यो पटक पनि त्यसैगरी आइपुगे ।

म कार्यालयबाट निस्केर प्रहरीको गाडीमा चढ्नुअघि चर्को आवाज आउने गरी घण्टी बजाएको त पक्कै सुन्नुभयो होला । यदि सुन्नुभएको छैन भने अहिले पनि समाजिक सञ्जालमा कतै अवश्य भेटिन्छ । खोजेर हेर्नुहोला । किनकि यो सूचना प्रविधिको समय हो । र यो सरकारले रचेको षड्यन्त्रको फेहरिस्त तपाईंहरुले थाहा पाउनैपर्ने हुन्छ ।

मलाई पार्टी कार्यालयबाट प्रहरीले गाडीमा हालेर सिआइबी कार्यालय पुर्याएको थियो । त्यहाँ पनि केही प्रक्रिया पूरा गरी सोही रात पोखरा ल्याए । आइपुग्दा बिहानको करिब ३ बजिसकेको थियो । मसँगै पार्टीका नेताहरु पनि पछिपछि आएका थिए । त्यसैले एक्लो महशुस गर्न परेन ।

अस्तिदेखि प्रहरी हिरासतमै छु । केही प्रहरी अधिकारी मैले चिनेका हुनुहँदो रहेछ । उहाँहरुसँग राम्रो कुराकानी भयो । बिहानै ‘चिया खाने कि तातो पानी सर’ भनेर सोधेका थिए । मैले सुरुमा तातो पानी मागेँ । र पछि चिया–ब्रेड ।

दिउँसो अबेलासम्म पनि भोक थिएन । थोरै खाना खाए । मित्र छविलाल जोशीसँग पनि खाना खानेबेला भेट भयो । हात मिलाएर एकछिन गफ गयौँ । सुख–दुख साट्यौँ । उहाँ पनि असोज ६ गते रातिदेखि हिरासतमा हुनुहुन्छ ।

मैले उहाँलाई भनँे– छविजी यो त अचम्म भयो, हामी त छुट्टिन खोज्दा पनि समयले बारम्बार मिलाउदो र’च । त्यही त रवि जी, आखिर तपाईं पनि यहीँ आइपुग्नु भयो हैँ ! अनि कति दिनको लागि हो ?– जवाफमा प्रतिप्रश्न आयो ।

खै छविजी, राख्लान नि दुई–चार दिन ! अनि तपाईं निस्कने कहिले हो नी ?– मैले पनि सोधेँ । उहाँले भन्नुभयो– अस्ति भर्खर फेरि २० दिन म्याद थप गरेका छन् । यहाँ बस्दा–बस्दा मलाई दिक्क लागिसक्यो ! कहिले हो कहिले !

कुरा गर्दै जाँदा छविजी पनि जिबी (राई)सँग रिसाएको पाएँ । हाँस्दै भन्नुभयो– जिबीले सकायो नि रविजी, भएभरको पैसा उठाएर भाग्यो । हामीलाई नराम्ररी यो झमेलामा पार्यो ।

छविजी र म एउटै सहकारी (सूर्य दर्शन)को कारण नराम्ररी फसेका पात्र हौँ । हाम्रा पीडाहरु केही हदसम्म साझा छन्÷ मिल्छन् । जे होस्, अहिले प्रहरीको हिरासतमा पनि एउटा पुरानो साथी भेटिएको छ । भावना साट्न पाएको छु । हामीलाई राखिएको कोठा नजिकै छन् । वरपर गर्दा देखिन्छ । बोलिन्छ ।

अन्त्यमा मेरा प्रिय साथीहरु,

यहाँ हिरासतमा मलाई सञ्चै छ । म कुनै बनावटी बिरामी देखाएर अस्पतालको सुविधो खोज्ने व्यक्ति होइन । प्रहरीले जे दिन्छ, त्यही खाएर बस्छु । जहाँ सुताउछ, त्यही सुत्छु । तर तपाईंहरु नआत्तिनु होला । जहाँ जे अवस्थामा हुनुहुन्छ, त्यहीबाट यो सरकारको विरोध गर्नुहोला ।

म रिहाइ नहुञ्जेलसम्म शहरका सडकमा उत्रिनुस् । यो सरकारको निद्रा ब्युँझने गरी चर्को आवाजमा जुलुस निकाल्नुस् । तपार्इंहरुको आवाजलाई दबाउन सरकारले प्रहरी परिचालन गर्न सक्छ । तपाईहरु नडराउनुस्, अघि बढ्नुस् । एकदिन अवश्य यो सरकारले घुँडा टेक्नेछ ।

सरकारलाई बंगलादेशको उदाहरणले तर्साउनुस् । त्यहाँ एउटा निरकुंश रानी (?) को पतन भयो, यहाँ एउटा निरकुंश (राजा) को पतन गराउनुस् ।

तपाईंहरुलाई केही भइहाल्यो भने, रवि दाइ ज्युँदो नै छ ।

अनि प्रिय निकिता, तिम्रो श्रीमानले कसैलाई ठगेको छैन । कुनै अपराध गरेको छैन । म निर्दोष बनेर निस्कनेछु । अंगालोभरीको माया !

टिप्पणीहरू