यस्ता छन् प्रधानमन्त्रीले सुनाएका सय दिने उपलब्धि

यस्ता छन् प्रधानमन्त्रीले सुनाएका सय दिने उपलब्धि
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक सय दिनको प्रगती विवरण सार्वजनिक गर्नुभएको छ । 

सरकार गठनको सय दिन पुगेको सन्दर्भमा आज सिंहदरबारबाट सम्बोधन गर्दै उहाँले उपलब्धि सार्वजनिक गर्नुभएको हो । त्यसक्रममा ओलीले नेपाली कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना नदेख्न आग्रह गर्नुभयो ।

भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा भ्रष्टाचारीलाई दुई-चार दिनको लागि पक्राउ गरेर उन्मुक्ति नदिइने पनि उहाँले बताउनुभएको छ । सहकारी ठगी प्रकरणमा दोषीलाई कारवाही गर्ने प्रक्रिया शुरु भैसकेको उहाँको भनाई छ । 

‘म प्रधानमन्त्री नियुक्त भएर संसदमा विश्वासको मत लिँदै गर्दा बचतकर्ताको रकम अपचलन गर्ने सहकारी ठगहरुलाई कारवाही गर्ने घोषणा गरेको थिएँ’, ओलीले भन्नुभयो, ‘आज म यो भन्ने अवस्थामा आइपुगेको छु, सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेलाई सरकारले कानुनी दायरमा ल्याएको छ, ल्याउदैछ ।’

प्रधानमन्त्री ओलीले सयदिनको अवधिमा लामिछानेसहित ६ सयभन्दा बढी सहकारी ठगहरुलाई कानुनी दायरामा ल्याइएको पनि जानकारी दिनुभयो । जसमध्ये ५ सय ७५ जनामाथि अहिले अनुसन्धान भइरहेको उहाँको भनाई छ । 

उहाँले बचतकर्ताको रकम फिर्ता गर्न पनि सरकारले काम अघि बढाएको बताउनुभयो । ‘यो सरकारले सहकारी ठगलाई कारवाही गर्ने मात्र होइन, बचतकर्ताको रकम फिर्ता गर्न सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी सुचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि अघि बढाइरहेको छ’, प्रधानमन्त्रीले भन्नुभयो । 

भ्रष्टाचार नियन्त्रण र सुशासन स्टन्टबाजी तथा शुटिंग गरेर देखाउने कुरा नभएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘भ्रष्टाचार नियन्त्रणा सरकारले क्यामेरालाई हैन, कानुनलाई गुरु मानेको छ ।’ 

सय दिनको अवधिमा सरकारले ३५ जिल्लाका १५ लाख दूग्ध किसान तथा ७५ हजार उखु किसानको भुक्तानी दिएको पनि उहाँले जानकारी दिनुभयो । निर्माण सम्पन्न गरी वर्षौदेखि भुक्तानी नपाएका निर्माण व्यवसायीहरुलाई ६ अर्ब ७५ करोड पैसा दिइएको बताउनुभयो । 

त्यस्तै, युवा स्वरोजगारका लागि १६५ जना युवालाई २५ लाखका दरले स्टार्टअप कर्जा उपलब्ध गराउन लागेको पनि उहाँले जानकारी दिनुभयो ।

 

टिप्पणीहरू