रविलाई अदालत लगियो, रास्वपाका नेता काठमाडौँ फर्कंदै

रविलाई अदालत लगियो, रास्वपाका नेता काठमाडौँ फर्कंदै
सुन्नुहोस्

सभापति रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले काठमाडौँ फर्किने तयारी थालेका छन् । पोखराका स्थानीयको सोचेजस्तो साथ नपाएको र प्रदर्शनप्रति जनआक्रोश बढ्दै जान थालेपछि उनीहरु फर्किन लागेका हुन् । 

गत शुक्रबार लामिछाने पक्राउ परेपछि शनिबारदेखि रास्वपाले निरन्तर प्रदर्शन गरिरहेको छ । देशभरबाट कार्यकर्ता तथा समर्थक पोखरा उतार्ने भनिए पनि प्रदर्शन दिन प्रतिदिन कमजोर बन्दै गएको देखिन्छ । अर्कोतिर सहकारी पीडितको पक्षमा रहेका स्थानीयले रास्वपाका कार्यकर्ता घेर्न थालेका छन् । 

सबै हिसाबले अवस्था प्रतिकूल बनेपछि रास्वपाले आज अन्तिम प्रदर्शन गरेर काठमाडौँ फर्किने तयारी गरेको हो । उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेले आज पत्रकार सम्मेलन गरेर अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने जानकारी दिए । 

लामिछानेको बयान लम्बाएर हिरासतमै राखिराख्ने सरकारको नियत देखिएको भन्दै वाग्लेले आक्रोशसमेत पोखेका छन् । पक्राउ परेको १२५ घण्टामा लामिछानेसँग ४/५ घण्टामात्र बयान लिएको भन्दै उनले प्रश्न गरे, ‘के उहाँलाई यहाँ दालभात खुवाउन ल्याएको हो र ? तयारी थिएन पहिला ? के सोध्ने भन्ने थाहा छैन ?’

लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको घटनाक्रमले पुष्टि भएको अर्यालले दावी गरेका छन् । प्रशासनलाई प्रश्न गर्दै उनले भने, ‘मगाइएका कागज आइपुगेन भन्दै जबर्जस्ती अनुसन्धान लम्ब्याउने रणनीति भइरहेको छ ।’

त्यस्तै, सहप्रवक्ता मनिष झाले भने पोखराको प्रदर्शन सफल भएको दावी गरेका छन् । न्यायको लागि सरकारलाई झक्झक्याउन प्रदर्शन सफल भएको र अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने उनको भनाई छ । दिउँसो प्रदर्शन सकेर साँझ काठमाडौँ फर्किने उनको संकेत छ । 

रास्वपाका नेताहरुले पोखराको प्रदर्शन सफल भएको दावी गरिरहँदा स्थानीय भने असन्तुष्ट छन् । अस्ति रास्वपाका एक दर्जन नेताले घरदैलो गरेर प्रदर्शनमा सहभागी हुन आग्रह गरेपछि स्थानीयले विरोध जनाएका थिए ।  

उता लामिछानेलाई आज दोस्रो पटक म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रवि र छविलाल जोशीलाई सँगै अदालत लगिएको थियो । असोज ६ गते पक्राउ परेका जोशी र रवि  जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको तत्कालीन सन्चालक र प्रवन्ध निर्देशक हुन् ।

 

टिप्पणीहरू