सहकारी प्रकरणमा सरकारले पन्पक्ष गरेको आरोप

सहकारी प्रकरणमा सरकारले पन्पक्ष गरेको आरोप
सुन्नुहोस्

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा सरकारको व्यवहार पक्षपातपूर्ण रहेको बताएको छ । 

विपक्षी दलका नेतालाई छानिछानी मुद्दा लगाउने तर सत्ता पक्षकालाई जोगाउने काम सरकारले गरिरहेको माओवादीको आरोप छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलमा प्रवक्ता अग्निप्रसाद सापकोटाले सत्तारुढ दलका नेताहरूको नामै लिएर उनीहरुमाथि अनुसन्धान नभएको बताए ।   

सहकारी बचत अपचलनमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिको सभापतिसमेत रहेका एमाले नेता ऋषिकेश पोखरेललाई सरकारले संरक्षण गरेको उनको दाबी छ । 

'नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ,नेकपा एमालेका ऋषिकेश पोखरेल लगायतकाहरूलाई प्रमाण हुँदाहुँदै खुला रुपमा संरक्षण गरिएको छ', असन्तुष्टि जनाउँदै सापकोटाले भने ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विषयमा पत्रकारले माओवादीको धारणा मागेकोमा उनले सरकारले दोहोरो मापदण्ड अपनाएको बताए । ‘अदालती प्रक्रियामा गएको छ । उहाँहरुकै कार्यकर्ताले नारा लगाउनुभएको छ । हामीले के गरेका छौं त ? हामीले दोहोरो मापदण्ड अपनाउन हुँदैन, पक्षपात गर्न हुँदैन भनेका मात्रै छौं’ सापकोटाले भने ।

माओवादीले सुशासनको पक्षमा अघिल्लो सरकारले गरेका काम सरकारले उल्टाएको भन्दै आक्रोश पोखेको छ । 

ओली नेतृत्वको सरकारको सय दिन पूर्ण असफल भएको जनाउँदै शनिवार काठमाडौँमा खबरदारी सभा गर्न लागेको माओवादीले त्यसबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको हो ।

टिप्पणीहरू