क्याबिनेट बैठकअघि उपप्रधानमन्त्रीको कार्यकक्षमा छलफल

क्याबिनेट बैठकअघि उपप्रधानमन्त्रीको कार्यकक्षमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ पाँच बजे बस्नगरी बैठक बोलाइएको हो । बैठकले संविधान संशोधन र दल विभाजनसम्बन्धी अध्यादेशबारे विशेष निर्णय गर्नसक्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।  

संसद्को यहि कार्यकालमा एमालेलाई पहिलो पार्टी बनाउन नेकपा एकीकृत समाजवादीलगायत साना दल विभाजनका लागि अनुकूल हुनेगरी अध्यादेशमार्फत ऐन संशोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । तर, सत्ता साझेदार नेपाली काँग्रेसको समर्थन नहुँदा सरकारले अध्यादेश जारी गर्न सकेको छैन ।

दुई पार्टीबीच सहमति नजुटेकै कारण अस्तिको क्याबिनेट बैठक अन्तिम समयमा स्थगित भएको थियो । यसबीचमा काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच अध्यादेशबारे सहमति जुटे–नजुटेको स्पष्ट छैन । 

यसैबीच क्याबिनेट बैठकअघि काँग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुले उपप्रधानमन्त्री प्रकाशमान सिंहको चेम्बरमा आधा घण्टा छलफल गरेका छन् । सभापति देउवाको निर्देशनअनुसार क्याबिनेटमा जानुअघि समान धारणा बनाउन उनीहरुले छोटो छलफल गरेको बताइएको छ । 

क्याबिनेटमा प्रधानमन्त्रीसँग मत बझाउन नभई सम्भावित एजेण्डामाथि पार्टीको दृष्टिकोण बनाउन मन्त्रीहरुले गृहकार्य गरेको काँग्रेस स्रोतले बताएको छ ।

टिप्पणीहरू