सुप्रिम ठगीमा पनि तानिए रवि, बुटवल ल्याउन अदालतकाे आदेश

सुप्रिम ठगीमा पनि तानिए रवि, बुटवल ल्याउन अदालतकाे आदेश

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको अनुसन्धानमा हिरासतमा रहेका रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि तानिएका छन् । हाल अनुसन्धानको क्रममा रहेका नेपाल प्रहरीका छविलाल जोशी बञ्जाडेसँग रुपन्देहीको सरकारी वकिल कार्यालयले दुई दिन बयान लिएपछि जिल्ला अदालतले रविलगायत अन्य एक दर्जनलाई पक्राउ गर्न अनुमति दिएको छ ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले आज उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको छ । उक्त सहकारीको रकम पनि रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरिएको थियो । उक्त नेटवर्कका अध्यक्ष जिबी राई, उपाध्यक्ष जोशी थिए ।

जोशीलाई दुई दिन बयान लिएपछि पोखरा पठाइएको छ । रवि र छविलाई कास्की जिल्ला अदालतले आज पुनः एक साताको म्याद थप गरेको छ ।

बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको देखिएको छ । त्यस्तै गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रकम गएको हालसम्मको अनुसन्धानमा देखिएको बताइन्छ ।

जोशी, लामिछानेसहित जीबी, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम ट्रान्सफर गरिएको थियो ।

प्रहरीले यसअघि गरेको छानबिनमा जोशी, राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । तीमध्ये गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका हुन् । पूर्वअध्यक्ष राईसहित अन्य व्यक्ति फरार छन् ।

अदालतको पक्राउ अनुमतिसँगै रवि लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गर्ने मार्ग प्रशस्त भएको छ ।

टिप्पणीहरू