'क्रान्ति' हटाएर पार्टी दर्ता गर्दै राजेन्द्र महतो

'क्रान्ति' हटाएर पार्टी दर्ता गर्दै राजेन्द्र महतो

महन्थ ठाकुर नेतृत्वको लोसपा परित्याग गरी 'राष्ट्रिय मुक्ति क्रान्ति'को नाममा छुट्टै अभियान चलाइरहेका पूर्वमन्त्री राजेन्द्र महतोले दल दर्ता गर्न लागेका छन् । 

असोज १ गते पार्टी खोल्ने घोषणा गरेका उनले आज विधिवतरुपमा निर्वाचन आयोगमा दर्ता गराउन लागेका हुन् । पार्टीको नाम ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ रहने बताइएको छ  । 

शुरुमा महतोले अभियानकै नामबाट 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' राख्न खोजेका थिए । तर, आयोगले दलको नाममा ‘क्रान्ति’ शब्द राख्न नदिएपछि राष्टिय मुक्ति पार्टी मात्र रहने भएको हो । 

महतोको अध्यक्षतामा गठन हुने दलमा अहिले १८१ जना केन्द्रीय सदस्य रहने र विस्तारै आन्तरिक जिम्मेवार बाँडफाँड गरेर अन्य पदाधिकारी तोकिने बताइएको छ । 

उनले गत वर्ष फागुनमा लोसपा त्यागेर बहुल राष्ट्र निर्माणको लागि राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा गरेका थिए । त्यसअघि पनि उनी जनता समाजवादी पार्टीमा थिए ।

टिप्पणीहरू