सहकारी पीडितलाई महासंघको चेतावनी : पार्टीको कार्यक्रममा सहभागी नहुनू

सहकारी पीडितलाई महासंघको चेतावनी : पार्टीको कार्यक्रममा सहभागी नहुनू
सुन्नुहोस्

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले राजनीतिक पार्टीले गरेका विरोध प्रदर्शनमा सहभागी नहुन सहकारी पीडितलाई आग्रह गरेको छ । 

सहकारी पीडितको आन्दोलनमा दलहरुले राजनीति गर्न लागेको भन्दै महासंघले सतर्क रहन भनेको हो । वास्तविक आन्दोलन छोडेर यस्ता भ्रामक गतिविधि तथा क्रियाकलापमा संलग्न भए प्रतितुत्पादक हुने स्पष्ट पारेको छ । 

त्यस्तै, आफ्नो विरोधका कार्यक्रममा सहकारी पीडितलाई बोलाइए सम्बन्धि राजनीतिक दलविरुद्ध प्रतिकार गर्ने पनि महासंघको चेतावनी छ ।  

‘सम्पूर्ण बचतकर्ता नेतृत्ववर्ग साथीहरुलाई पार्टीले गरेको आन्दोलनमा साथ दिन जानुभयो भने प्रतिउत्पादक हुने छ,’ महासंघले भनेको छ, ‘राजनीति स्वार्थ पूरा गर्न हाम्रा सदस्यहरुको बलि चढाउने काम बन्द गरिदिनुहोस् होइन भने प्रतिकारमा हाम्रो महासंघ उत्रन बाध्य हुनेछ ।’

सहकारी पीडितलाई मोहरा बनाउन लागिएको भन्दै उसले सदस्यहरुलाई भनेको छ, ‘कुनै नेता अहिले घरमा आएर तपाईँको लागि हामी लड्छौं भनेर ब्ल्याकमेल गर्यो  भने बुझ्नुहोस् उसले आफ्नो राजनीतिक गर्न आएको छ । पैसा फिर्ता गराउने आधार भनेर सोध्नुहोला ।’

राजनीतिक दलले आफ्ना नेता-कार्यकर्ताको बचाऊ गर्न छोडेर पीडित बचतकर्ताको निक्षेप फिर्ताका लागि समर्थन जनाएको अवस्थामा भने स्वागत गर्ने उल्लेख गर्दै महासंघले सहकारी बचतकर्ताको निक्षेप फिर्ताका निम्ति मंसिर ५ गते विशाल आन्दोलनको तयारी गरेको पनि जानकारी गराएको छ । 

‘कसैको भ्रमपूर्ण उक्साहटमा लागेर पैसा फिर्ता पाउनुभएन भने त्यसको जिम्मेवार तपाईँ स्वयंम हुनुपर्ने छ साथै पीडकको आरोप लागेको, राजनैतिक आवरणको फाइदा उठाएर फरार रहेका र राजनैतिक मञ्चमा खुलेआम भाषण गर्दै हिँड्ने, कानूनभन्दामाथि रहेको मानसिकता बोक्दै हिँडेका समेत सबैलाई कारबाहीको दायरामा ल्याउन गरिएको वास्तविक पीडितहरुको आन्दोलनलाई कुनै पनि कोणबाट कमजोर पार्ने खालका भ्रामक गतिविधि र क्रियाकलापमा नलागी विशुद्ध आफ्नो बचतको साँबाब्याजसहितको रकम फिर्ता गर्न आह्वान गरिएको मंसिर ५ गतेको विशाल राष्ट्रिय निर्णायक आन्दोलन पीडितहरुको आफ्नो हक, अधिकार र न्याय खोस्ने दिन हो,’ विज्ञप्तिमा उल्लेख छ । 

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइका लागि सो पार्टीले आयोजना गरेको विरोध प्रदर्शनमा पीडितहरुलाई सहभागी गराउन खोजिएपछि महासंघले यसअघि पनि आपत्ति जनाएको थियो ।

टिप्पणीहरू