लात्तै लात्ता हान्ने तहमा किन पुगे कमरेडहरु ?

लात्तै लात्ता हान्ने तहमा किन पुगे कमरेडहरु ?
सुन्नुहोस्

सत्ता नेतृत्व गरिरहेको (नेकपा एमाले) को जनवर्गीय संगठन आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकमा भाँडभैलो मच्चिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुने भनिएको बैठक दुई पक्षीय झडपले भाँडिएको हो । 

ललितपुर महानगरपालिका-९ च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो पौने १ बजेका लागि बैठक बोलाइएको थियो । तर, अध्यक्ष पासाङ शेर्पा र महासचिव पेम्बा भोटेको पुरानो रिसइबी र गुटगत टकरावका कारण बैठक शुरु हुनुअघि नै दुबैतिरका कार्यकर्ता 'कुटाकुट' मा उत्रिए । सो क्रममा महासचिव पक्षबाट खुकुरी देखाइएपछि प्रहरी लगाएर स्थिति नियन्त्रणमा लिनुपर्ने अवस्था निम्तियो । 

एमाले स्रोतका अनुसार आजको झगडाको मूल कारण पार्टीमा दुई गुटको नेतृत्व गर्ने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल खेमाबीचको अदृश्य द्वन्द्व हो । तर, महासंघमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने झुमा चौधरी सतहमा प्रकट भएकी छन् ।

 

अनेमसंघ सुदूरपश्चिम प्रदेश अधिवेशनका बेला झुमालाई अध्यक्ष बनाउने र रोक्ने खेलले सृजना गरेको विवाद आज पार्टी कार्यालयभित्रै खुकुरी प्रदर्शन गर्ने तहमा पुगेको बताइन्छ । बताइएअनुसार एमाले सुदूरपश्चिम प्रदेशका नेता कर्ण थापा जसरी पनि उनलाई अध्यक्ष बनाउन चाहन्थे । तर, जन संगठन समन्वय संयन्त्रका इञ्चार्ज भानुभक्त ढकाल,  महासंघकी इञ्चार्ज थममाया थापामगर र पूर्वइञ्चार्ज गोकुल घर्ति त्यसमा सहमत भएनन् । 

महासचिवकै संरक्षण पाएका अध्यक्ष पासाङले बैठकमै लात्तै लात्ताले भकुरे ।

उपाध्यक्ष विष्णु पक्षका कर्णले ल्याएको प्रस्तावलाई रोकेर अहिलेका उध्योगमन्त्री तथा केन्द्रीय सदस्य दामोदर भण्डारी र नारदमुनि रानाले तोकेको व्यक्तिलाई अध्यक्ष बनाउन शंकर खेमाका भानुभक्तहरु खुलेर लागेपछि मनमुटाव शुरु भयो । जनजाति महासंघमा पनि रहेकी झुमालाई रोक्न यौटै मान्छे दुइटा संगठनमा बस्न नमिल्ने विधानको व्यवस्था आकर्षित गराइयो । त्यसपछि महासंघको जिम्मेवारीबाट तत्काल राजीनामा दिएर उनले अनेमसंघको प्रदेश अध्यक्षमा दाबी नछोड्ने अड्डी कसिन् । 

महासंघका महासचिव पेम्बा भोटेले तत्काल राजीनामा स्वीकृत गरिदिएपछि उनी अनेमसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष बनिन् । भानुभक्तसहित गोकुल र थममायाहरुले पासाङ शेर्पालाई राजीनामा अस्वीकृत गर्न दिएको निर्देशन खेर गयो । विवादको चुरो यहाँनेर रहेको एमाले सुपका एकजना नेताले जनआस्थालाई सुनाए । 

तर, लफडा त्यहीँ टुंगिएन । संगठनको हितविपरित काम गरेको भन्दै पेम्बा कारवाहीमा परे । भानुभक्तको निर्देशनमा केही दिनअघि बसेको महासंघको पदाधिकारी बैठकले उनलाई कारवाही गरेको कर्ण थापा निकटहरुको आरोप छ । त्यसपछि दुई दिनअघि ललितपुरको ब्रिटिश क्याम्पमा बसेको बैठकमा पेम्बाले आफूमाथि गरेको कारवाही फिर्ता लिन माग गरे । तर, पार्टी महासचिवकै संरक्षण पाएका अध्यक्ष पासाङले बैठकमै लात्तै लात्ताले भकुरे । यो घटनापछि पार्टीको गुटगत लडाई व्यक्तिगत रिसइबीको तहमा पुगेको थियो ।   

पछिल्लो समय दुवै समूह एक-अर्कालाई निषेध गर्ने मात्र होइन मौका मिले आक्रमणमा उत्रने भित्री तयारीमा थियो । 'दुवै पक्ष भिड्ने मानसिकतामा थिए । आज बैठक शुरु हुनुअघि महासचिवको रुपमा प्रवेश गर्न दिए अवरोध नगर्ने नत्र नाराबाजी गर्ने र बिथोल्ने भोटे समूहको तयारी थियो', उनै नेता भन्छन्, 'त्यहीबेला पासाङ खेमाले खुकुरी देखाएपछि पार्टी कार्यालयमै झडपको स्थिति बनेको हो ।' 

यता, जनजाति प्रतिष्ठानमा कसलाई उपाध्यक्ष बनाउने भन्नेमा पनि अध्यक्ष र महासचिवबीच एकमत थिएन । गोकुल घर्तीको चार वर्षे जागिर सकिएपछि आफैँ उक्त पदमा जान ज्यान फालेर लागेका पासाङ र पेम्बा एक-अर्कालाई रोक्ने सक्दो प्रयासमा छन् । 

त्यहीअन्तर्गत बहुबिबाहको कसूरमा दोषी प्रमाणित भएका पासाङविरुद्ध अदालतले गरेको फैसला पेम्बाले सार्वजनिक गरिदिए । नैतिक संकटमा पारेर रोक्ने रणनीतिअन्तर्गत फैसला प्रिन्ट गरेर पार्टीपंक्ति सबैतिर बाँडेका उनले अध्यक्ष केपी ओलीकहाँ पनि एकप्रति पुर्याए । तर,उल्टै पार्टीको कुरा बाहिर ल्याएको भन्दै अध्यक्ष ओलीले आइन्दा यसो नगर्न चेतावनी दिए ।
 
जनजाति महासंघमा पेम्बा विष्णु र पासाङ शंकर खेमाको नेतृत्व गर्छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओली यसै असन्तुष्ट भएको अवस्था र उनको गुटका नेता विष्णु पौडेल देशबाहिर रहेको मौका छोपेर पासाङ खेमाले पेम्बालाई सिध्याउने षड्यन्त्रअन्तर्गत आजको खेल रचना गरिएको एमाले स्रोतको दाबी छ ।

 

टिप्पणीहरू