लोकप्रियताकै लागि ह्वारह्वार्ती पैसा !

लोकप्रियताकै लागि ह्वारह्वार्ती पैसा !

राष्ट्रिय राजनीतिमा सामाजिक सञ्जालको प्रभाव बढ्दो छ। फ्यान फलोइङ, लाइक, कमेन्ट, सेयरको प्रतिस्पर्धा गरेर ‘पपुलिस्ट नेता’ बनेका उदाहरण पनि छन्। यो प्रवृत्तिले मुलुकको भविष्यलाई नै जोखिममा पारेको विश्लेषण भइरहेको बेला राजनीतिमा लागेका र लाग्न खोजेका केहीले सामाजिक सञ्जाललाई विदेशी मुद्रा तिरेर वा फेक खाता बनाएर भएपनि आफूलाई लोकप्रिय देखाउने प्रयास जारी राखेको देखिन्छ ।

यसबीच आम जनता पार्टी (आजपा) की केन्द्रीय उपाध्यक्ष एलिजा गौतमले आफूलाई लोकप्रिय देखाउन साइबर समूह परिचालन गरेकी छन् । उक्त समूहले विभिन्न नामका खाता खोलेर नियमित पोस्ट तथा स्टाटसमा आकर्षक प्रतिक्रिया दिनेदेखि विभिन्न ग्रुपमा सेयरसम्मको काम गरिरहेको सूचना प्रविधिको क्षेत्रमा सक्रिय विज्ञहरुको विश्लेषण छ ।

उदाहरण दिँदै एकजनाले भने, ‘एलिजाले गत शुक्रबार (९ जनवरी) मा सेयर गरेको एउटा पोस्टलाई लिन सकिन्छ। उक्त दिन उनी क्षेत्रीय भेलालाई सम्बोधन गर्न रौतहटको क्षेत्र नम्बर २ तैजापकडामा जान लागेको व्यहोराको पोस्ट सेयर गरिन्। तर उक्त पोस्टमा प्रतिक्रिया दिने नेपाली मूलका कोही छैनन्। सामान्यतयाः नेपाली नागरिकले उच्चारण नै गर्न नसक्ने नामबाट खोलिएका ती नक्कली खाताबाट धमाधम एलिजाको पोस्टमा आकर्षक कमेन्टहरू आउन थाले । त्यस्ता खाताहरूमध्ये कतिपयबाट नेपाली भाषामै कमेन्ट गरिएको छ भने कतिपयले अंग्रेजीमा लेखेको देखिन्छ।’

प्राइम टेलिभिजनकी सञ्चालकसमेत रहेकी उनले गत कात्तिक अन्तिम साता जनादेश पार्टी खोलेकी थिइन्। पार्टी निर्वाचन आयोगमा दर्ता भएको डेढ महिना नबित्दै उनी आजपामा प्रवेश गरिन् ।

विभिन्न म्युजिक भिडियोमा काम गरेकी एलिजाले पाँच वर्षअघि आफैँ लगानी गरेर ‘अनुराग’ चलचित्रसमेत बनाइन् । तर चलचित्र ‘सुपर फ्लप’ भएपछि उनी टेलिभिजन व्यवस्थापन र राजनीतिमा होमिएकी हुन् ।

टिप्पणीहरू