‘साइबर डग’ देखेर प्रधानमन्त्री दंग

‘साइबर डग’ देखेर प्रधानमन्त्री दंग

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दुरुपयोग रोक्न प्रविधि अनुकूल नीतिको आवश्यकतामाथि जोड दिनुभएको छ । 

एमाले निटक युवा संघले आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ लाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । 

एआईले मान्छेको दैनिक जीवनलाई सहज बनाउँदै लगेको तर गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने खतरा पनि रहेकाले सो सम्बन्धी नीति बनाउनु जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

‘एआईले विकास र समृद्धिको ठूलो सहयोग गरेको छ’ उहाँले भन्नुभयो, ‘तर यसको मिसयुजले कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई पनि बढाएको देखिन्छ ।’

प्रधानमन्त्री ओलीले एआईको दुरुपयोग गरेर बनाइएको आफ्नै भिडिओ स्मरण गर्दै सुनाउनुभयो, ‘एआईको दुरुपयोगले मैले गीत गाएको, म नाचेको भिडिओ हेर्छु । मलाई गीत त गाउन आउँदैन। एआईले मेरो भन्दा राम्रो स्वरमा राम्रो गीत गाउँछ । यो मै हेरिरहेको छु । एआईलाई यसरी मिसयुज गर्नु हुँदैन ।' 

सम्मेलनमा युवाहरुले बनाएको विभिन्न एआई तथा रोबोटिक उपकरणहरु प्रदर्शन गरिएको थियो । जसमध्ये प्रधानमन्त्री ओलीले साइबर डग (विद्युतीय कुकुर) ज्यादै मन पराउनुभएको थियो । उहाँले साइबर डग बनाउने युवाको खुलेर प्रशंसासमेत गर्नुभयो ।

टिप्पणीहरू