विमानस्थलमा केही देखाएर गए कोषहरि
मुलुककै सबैभन्दा बढी व्यस्त हुने ठाउँमध्ये एक हो- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । दैनिक हजारौंको संख्यामा स्वदेशी तथा विदेशीहरुको आरपार भइरहने विमानस्थलमा भीड व्यवस्थापन निकै चुनौतिको विषय पनि हो । पछिल्लो समय अध्यागमनमा क्रमश: सुधार भएको देखिन्छ ।
विगतको तुलनामा अध्यागमनमा सेवा प्रवाह छरितो र सहजै हुन थालेको सेवाग्राहीहरु बताउँछन् । यो सम्भव हुनुमा विभागका निवर्तमान महानिर्देशक कोषहरि निरौलाको भूमिका महत्वपूर्ण र निर्णायक मानिन्छ । गत चैत ७ गतेदेखि महानिर्देशकका रुपमा अध्यागमनको नेतृत्व सम्हालेका उनी सात महिने कार्यकाल सकेर कात्तिक ७ गते त्यहाँबाट बिदा भएका छन् । क्याबिनेट बैठकले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।
अध्यागमनसँग सम्बन्धित विषयमा पहिल्यैदेखि जानकार निरौलाले महानिर्देशकको जिम्मेवारी पाएपछि विभागले सुधारको बाटो लिएको यहाँका कर्मचारी बताउँछन् ।
अध्यागमन विभागमातहत १५ वटा कार्यालय छन् । त्यसमध्ये त्रिवि अध्यागमन कार्यालयमा विगतमा सेवाग्राहीले लाइन लाग्नुपर्ने र घण्टौं कुर्नुपर्ने बाध्यता रहेकोमा अहिले लगभग १० मीनेटभित्रै सेवा पाउने पद्धति थालनी भएको छ ।
विमानस्थलको आवागमनतर्फ प्रत्येक १५ देखि २० सेकेण्डमा एक व्यक्ति आरपार हुन्छन् भने प्रस्थानमा पनि लगभग उस्तै अवस्था छ । त्यस्तै,सेवा प्रवाहलाई नै लिएर कर्मचारी र सेवाग्राहीबीच हुने झै-झगडा,अनमेलजस्ता समस्याको पनि पछिल्लो समय अन्त्य हुँदै गएको बताइन्छ ।
विभागले प्रविधितर्फ पनि फड्को मार्दै गएको छ । यसका लागि नेपाली कोडमा जडान भएका पुराना कम्प्युटर,प्रिन्टर,पिआरएएन (पासपोर्ट रिडेबल), क्यामेरा, बायोमेट्रिक, फिंगर प्रिन्टजस्ता मेशिनलाई विस्थापित गरिएको हो । त्यसको सट्टामा नयाँ ४० वटा 'टच स्क्रिन' कम्प्युटर जडान गरिएको छ । त्योसँगै क्युएस मेशिन राखिएको छ । जसका कारण कुनै विदेशीले अध्यागमन कार्यालयमै आएर भिसा लिनु परेमा आफैंले विवरण भरेर तत्कालै प्रिन्ट गरी लिन सक्नेछन् ।
विगतमा विभागमा नेटवर्क समस्याले पनि धेरै दुःख दिने गरेको थियो । बेलाबेला इन्टरनेट जाने र घण्टौंसम्म पनि नआउने अथवा सिस्टम नै डाउन हुने समस्या रहेकोमा अहिले त्यसबाट छुट्कारा मिलेको छ । नेटवर्क समस्या समाधानका लागि डार्क कोर फाइबर सिस्टम जोडिएको छ । यो जिआरडिसी सिंहदरबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसम्म जोडिएको छ । त्यसले काम छिटो हुनुका साथै सहजता पनि प्रदान गरेको छ । सुधारको यस पहलमा निरौलाको नाम अगाडि आउँछ ।
अस्ति आइतबार अध्यागमन कार्यालयको निरीक्षण गर्दा विगतको तुलनामा सेवा प्रवाह छिटो,छरितो र सहजै हुने गरेको पाइएको छ । विगतमा अनेकौं पटक नेपाल प्रवेश गर्दा धेरैजसो झन्झट भोगेकाहरु अहिले भने अध्यागमनको प्रभावकारिताले दंग देखिन्छन् ।
नेपाली मूलका एक जना गैरआवासीय सेवाग्राहीले हाल अध्यागमनको सेवा प्रवाहले आफू आश्चर्यचकित भएको बताए । उनले भने, ‘अध्यागमन भनेको मुलुकको ऐना हो । घण्टौंसम्म लाइन लागेर बस्नुपर्ने हविगतले हामीलाई दुःखी बनाउँदै आएको थियो । तर, अहिले त्यसको अन्त्य हुनुका साथै १० मीनेटमै सेवा प्रवाह भएको देख्दा खुशी छौं ।’
अध्यागमन विभागले कर्मचारीलाई दक्ष र क्षमतावान बनाउन नयाँ सरुवा भएर आएका वा कामकाज गरिरहेका कर्मचारीलाई कम्तीमा पनि पाँचदिने अभिमुखीकरण तालिम प्रदान गर्ने गरेको छ । सँगसँगै कुनै समस्या परेमा सामूहिक रुपमा छलफल गरेर समाधान निकाल्ने अभ्यास शुरु भएको विभागका एक कर्मचारीले सुनाए ।
यो अभ्यासले कर्मचारीमा आत्मनिर्भरता र मनोबल बढेको उनको अनुभव छ । पछिल्लो चरणमा कर्मचारीमा भाषासम्बन्धी समस्याले काममा बाधा नपरोस् भनी अंग्रेजीसँगै संयुक्त राष्ट्रसंघको कामकाजी भाषाहरु जस्तै फ्रेन्च, चिनियाँ भाषाको तालिम दिने योजनासमेत बनाइएको विभागले जनाएको छ ।
अध्यागमनलाई व्यवस्थित बनाउन र कुनै समस्या आइहालेमा तत्कालै समाधान गर्नेजस्ता कार्य नियमित भैरहेको विभागको भनाई छ । यता, अटोमेशनका काम पनि गरिएको छ । यसले अध्यागमनका सम्पूर्ण कामकाज सिस्टमअनुसार अनलाइनमा हुन थालेका छन् ।
उदाहरणका लागि कुनै व्यक्तिले पोखरालगायत अन्य अध्यागमन कार्यालयबाट भिसा लिन चाहेमा आवश्यक प्रक्रिया पुर्याएपश्चात् भीसा प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । विभागले सेवाग्राहीको सहजताका लागि आफ्ना कार्यालयहरुलाई त्यस्तो अधिकार प्रत्यायोजन गरेको हो ।
कार्यालयबाट प्रवाह हुने सेवा छिटोछरितो र एकैछिनमा हुने अवस्था बनाउन अझै थप काम गर्नुपर्ने र त्यसनिम्ति आफूहरु लागिपरेको विभागका एक उपसचिवले बताए ।
अनलाइन भीसाका लागि प्रयोगमा रहेको नेपाली कोडको ‘ईटीए सिस्टम’ लाई थप प्रभावकारी बनाउन भने अझै बाँकी रहेको विभागले जनाएको छ । नेपालको अन्तर्राष्ट्रिय 'गेट वे पेमेन्ट' नभएकाले अनलाइन भीसामा समस्या उत्पन्न भएको बताइन्छ । यसका लागि महालेखा नियन्त्रण कार्यालयबाट काम भइरहेको जनाइएको छ । यो व्यवस्थाको शुरुवात भएमा विदेशको जुनसुकै ठाउँबाट पनि पैसा तिरेर आवश्यक प्रक्रिया पुर्याएपछि भिसा प्राप्त गर्न सकिनेछ ।
योसम्म प्रविधिमा फड्को मार्ने योजना महानिर्देशक निरौलाकै पहली कदमीमा अघि बढेको कर्मचारीहरु सुनाउँछन् । नवनियुक्त महानिर्देशक गोविन्द रिजालले यो विषय प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ ।
डेढ दशकदेखि शुरु भएको नेपाली कोडमा अहिलेसम्म करोडौं तथ्यांक संकलन भएको छ । ती डाटाको सुरक्षित भण्डारणसँगै आवश्यक समयमा सदुपयोग र दशौं वर्षसम्म व्यवस्थित गरेर राख्न व्यवस्था गरिएको छ ।
योसँगै अध्यागमनमा देखिएका अन्य समस्या समाधानमा अन्तरनिकाय समन्वयको शुरुवात हुनुका साथै विगतका समस्या पनि हल गरिएको छ ।
टिप्पणीहरू