प्रधानमन्त्रीद्वारा फेरि अर्को घोषणा

प्रधानमन्त्रीद्वारा फेरि अर्को घोषणा

केही दिनअघि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी राष्ट्रिय नीति बनाउने घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि अर्को त्यस्तै ठूलो घोषणा गर्नुभएको छ । उहाँले छिटै आकर्षक, आधुनिक र सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने घोषणा गर्नुभएको हो । 

साफ महिला च्याम्प्यिनसिपको उपविजेता नेपाली फुटबल टोलीसँगको भेटकाक्रममा प्रधानमन्त्री ओलीले ५० हजार सिट क्षमताको रंगशाला बनाउने सरकारको तयारी सुनाउनुभयो । उहाँले विकास मन नपराउनेहरु पनि रहेको भन्दै सरकारले एउटा नयाँ रंगशाला सकेसम्म छिटै बनाउने दाबी गर्नुभयो । 

'रंगशाला पर्याप्त भएन । जम्मा १५ हजार ३७३ क्षमताको छ । त्यसो भएर १५ हजार ३७३ नभइ अब ५० हजारको स्टेडियम चाहिएको छ । हाम्रो जनसंख्यालाई ५० हजार भए अलि ठिकै होला की । धेरै मानिसले विकास मन पराउँदैनन् । तर हामीले एउटा नयाँ रंगशाला सकेसम्म छिटै आकर्षक, आधुनिक, सुविधा सम्पन्न र रंगशाला यस्तो होस् जहाँ सबै प्रकारको खेलहरु समावेश गर्न सकियोस् । हामी त्यस्तो रंगशाला बनउन खोज्दैछौँ । काठमाडौं बाहिर त एउटा छँदैछ रंगशाला बन्दै गरेको । काठमाडौं उपत्यकाभित्र बनाउँछौँ’, प्रधानमन्त्रीले भन्नुभयो । 

तर, प्रधानमन्त्रीको यो घोषणा पनि कार्यान्वयन हुनेमा ढुक्क भैहाल्ने अवस्था भने छैन । किनभने उहाँले अघिल्लो कार्यकालमै गरेको मगन्तेमुक्त शहर घोषणा अहिलेसम्म कागजमै सीमित भएको अवस्था छ । त्यस्तै, नेपालमै पानीजहाज कुदाउने, घर-घरमा ग्यास पाइप पुर्याउने, काठमाडौँमा मोनो रेल दौडाउने, केरुङ-पोखरा रेल संचालन गर्नेलगायत उहाँले गरेका घोषणा पनि चुनावी नारामात्र बनिरहेको छ ।

टिप्पणीहरू