हाकिमको गाडीले हान्दा एकजना ठहरै,अर्का इन्तु न चिन्तु

हाकिमको गाडीले हान्दा एकजना ठहरै,अर्का इन्तु न चिन्तु

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे र उनको परिवार सवार गाडीको ठक्करबाट उदयपुरमा एक जनाको ज्यान गएको छ । स्थानीय बेलटार बजार छेउ घिमिरेको नाममा बैंकले उपलब्ध गराउँदै आएको हुण्डाई क्रेटा बागमती प्रदेश ०२६च ५०६२ नम्बरको गाडीले ठक्कर दिँदा तिलक राईको घटनास्थलमा ज्यान गएको छ ।

घिमिरे तिहार मनाउन परिवारसहित बैंकको गाडीमा झापा हिँडेको बताइन्छ । काठमाडौंको धुम्बाराहीस्थित घरमा अस्ति लक्ष्मीपूजा र भोलि झापामा भाइटीका लगाउन उनी श्रीमती र छोराछोरीसहित उता जाने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमा ज्यान गएको हो ।

घिमिरेको गाडीले प्रदेश १ प ८८४९ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा चालक तिलक राईको मृत्यु भएको र मोटरसाइकलको पछाडि बसेका शरण राईको अवस्था गम्भीर रहेको इन्स्पेक्टर सन्तोष कार्कीले जानकारी दिए । उनको विराटनगरस्थित न्युरो हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

दुर्घटनामा मोटरसाइकल र गाडी दुबै ध्वस्त भएको छ । दुर्घटनापछि स्थानीयको भीड घिमिरे र गाडीमा सवारहरुमाथि जाइलागेको थियो । उनीहरुले गाडी चालक भएपनि घिमिरेले चलाएको आशंका गरेका छन् । प्रहरीले सवारी चालक बासुदेव सापकोटालाई नियन्त्रणमा लिएको जनाएको छ । 

चालक,गाडी र मोटरसाइकल बेल्टार प्रहरीको नियन्त्रणमा छ । प्रहरीले घिमिरे परिवारलाई हिजो राति नै त्यहाँबाट झापा पठाएको बुझिएको छ ।

बैंकमा पछिल्लो समय कार्यालयको गाडी ‘लुटको धन फुपुको श्राद्ध’ शैलीले चलाउने गरिएको पाइएको छ । अघिल्लो महिना बैैंकको वीरगञ्जस्थित कार्यालयको गाडी एकजना सहायक निर्देशकले हाँकेर कार्यालय परिसरमा ध्वस्त बनाएका थिए । ती अधिकृत तृतीयलाई कारबाहीको सट्टा बालुवाटारस्थित वित्त व्यवस्थापन विभागमा सरुवा गरेर घटनालाई सामसुम पारिएको र गाडी र वीरगञ्ज कार्यालयको पर्खाल ध्वस्त भएको थियो ।
 

टिप्पणीहरू