अर्को माओवादीद्वारा जनसत्ता घोषणा, मुलुकभर जनकारबाही

अर्को माओवादीद्वारा जनसत्ता घोषणा, मुलुकभर जनकारबाही

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले जनसत्ताको घोषणासहित देशव्यापी जनकारबाही अघि बढाउने निर्णय गरेको छ । गौरव महासचिव नेतृत्वको पार्टीको दोस्रो विस्तारित बैठकले पाँच कमाण्ड इञ्चार्ज पनि तोकेको छ ।

सशस्त्र जनविद्रोहको कार्यदिशासहित पछिल्लो केही समयदेखि देशव्यापी रुपमा जनसंघर्षमा रहेको पार्टीको दावी छ । बैठकमा जनसत्ता प्रमुखको जिम्मेवारीसमेत तोकिएको छ ।

 

गौरवको अध्यक्षतामा बसेको बैठकले पूर्वी कमाण्ड इञ्चार्जमा शेखर सिंह,मध्य कमाण्ड इञ्चार्जमा अग्नी, मध्यपश्चिम कमाण्ड इञ्चार्जमा जावेल, पश्चिम कमाण्ड इञ्चार्जमा दिपक, सुदूरपश्चिम कमाण्ड इञ्चार्जमा दान सिंहलाई जिम्मेवारी तोकेको छ । जनसत्ता प्रमुखमा क.शेखर तोकिएका छन् । 

जनवर्गीय मोर्चाहरुको पनि जिम्मेवारी तोकिएको जानकारी दिइएको छ । जनस्वाथ्य महांसघमा रमाकान्तलाई संयोजकको जिम्मेवारी तोकिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको संयोजकमा बाबुराम,नेपाल मुस्लिम मुक्ति मोर्चाको संयोजकमा कलिमुद्धीन, प्रवास विभाग इञ्चार्जमा समर्पण छानिएका छन् । त्यस्तै अनेमसंघको संयोजकमा सरस्वती चौधरी र नेपाल आदिवासी जनजाती महांसघमा रमालाई तोकिएको छ । 

पार्टीले जनमुक्ति सेना तथा जनसत्ता स्थापना दिवसको अवसरमा आगामी मंसिर ८ गते विशेष तथा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी संर्घषका कार्यक्रमअन्तर्गत देशव्यापी रुपमा मेडिकल माफिया, शैक्षिक माफिया, म्यानपावर माफिया, भूमाफिया, मजदुर माफिया, मिटरब्याज दलाल, जिल्लास्थित भ्रष्टाचारीहरु, राष्ट्रघाती, सुन तस्कर र राज्यलाई राजस्व नबुझाउनेहरु विरुद्ध जनकारबाही गर्ने बताइएको छ ।

टिप्पणीहरू