अमेरिकामा मतदान शुरु, दुबै उम्मेदवारबीच चर्को प्रतिस्पर्धा
अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन शुरु भएको छ । विश्वकै पुरानो लोकतान्त्रिक मुलुक अमेरिकाको ४७औँ राष्ट्रपति छान्न आज मतदान हुँदैछ ।
सबैभन्दा कम मतदाता रहेको न्यू ह्याम्पशायरको डिक्सभिल नोचमा मतदान सम्पन्न भैसकेको छ । जम्मा ६ मतदाता रहेको यहाँ करिब १० मिनेटमै मतदान सकिएको र लगत्तै परिणाम घोषणा गरिएको जनाइएको छ ।
डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले बराबर अर्थात् ३–३ मत पाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
न्यू ह्याम्पशायर क्यानाडासँग सीमाना जोडिएको अमेरिकाको उत्तरी क्षेत्रमा अवस्थित छ । त्यहाँ चार रिपब्लिकन र दुई जना तटस्थ मतदाता मतदानमा सहभागी भएको बताइएको छ ।
पछिला दुई निर्वाचनमा यस मतदान केन्द्रबाट बढी भोट पाउने उम्मेदवार राष्ट्रपति भएका थिए । अघिल्लो राष्ट्रपति निर्वाचनमा यहाँका पाँच मतदाताले डेमोक्र्याटका तर्फबाट राष्ट्रपति निर्वाचित जो बाइडेनलाई भोट दिएका थिए । त्यसअघिको चुनावमा पनि सातमध्ये चार जनाले सोही पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई मत हालेका थिए ।
यो मत केन्द्रको भोट निर्णायक नहुने भए पनि कतिपयले यसलाई चुनावी नतिजाको पूर्वसङ्केतका रूपमा हेर्ने गरेको पाइन्छ । यस हिसाबले यो पटकको निर्वाचनमा ह्यारिस र ट्रम्पबीच तीब्र प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
टिप्पणीहरू