टिकटक सूचीकृत, फेसबुक र ट्वीटरलाई पत्राचार

टिकटक सूचीकृत, फेसबुक र ट्वीटरलाई पत्राचार

सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक आधिकारिक रुपमा सूचीकृत भएको जानकारी दिएको हो । 

टिकटक कम्पनीले तिहारअघि नै आवश्यक प्रक्रिया पूरा गरेको भएपनि हिजो सूचीकरणको प्रमाणपत्र प्राप्त गरेको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । ‘कम्पनीले तिहारअघि नै सबै प्रक्रिया पूरा गरिसकेको थियो', उनले भने, 'तर, सूचीकृत भएको प्रमाणपत्र लिएको थिएन । हिजो चाँहि उक्त प्रमाणपत्र लिएको छ ।’

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्था र सरकारले राखेका सबै शर्तसहित टिकटक सूचीकृत भएको उनको भनाइ छ । 

सामाजिक सञ्जाल मेटा (फेसबुक) र एक्स (ट्वीटर) लाई पनि पत्राचार गरिएको र निकट भविष्यमा सूचीकृत हुने प्रवक्ता ठाकुरले विश्वास गरे । ‘हामीले टिकटक कसरी नेपालमा सूचीकृत भयो भन्नेबारे जानकारी दिएरै मेटा र एक्सलाई पनि पत्राचार गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । तर, निकट भविष्यमा ती कम्पनी पनि दर्ता हुने विश्वास लिएका छौं ।’

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले गत वर्षको कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसको साढे नौं महिनापछि गत भदौ ६ गते क्याबिनेट बैठकले शर्तसहित टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो । 

आधिकारिक रुपमा सूचीकृत भएसँगै अब सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको छ भने नियमन गर्न पनि सहज हुने छ ।

 

टिप्पणीहरू