ट्रम्पलाई पहिलो बधाई मोदीले दिएको भारतीय दाबी
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विजयी भएका छन् । अस्ति भएको निर्वाचनको अन्तिम परिणाम हिजो आउने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा पहिले ह्वाइट हाउसमा हुन लागेको पुनः प्रवेशका लागि बधाई दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री मोदीको सन्देशमा ट्रम्पको आगामी कार्यकालमा दुई मुलुकबीचको सम्बन्ध थप कसिलो हुने विश्वास उल्लेख गरिएको छ । टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले लेखेको छ, ‘ट्रम्प राष्ट्रपतिमा विजयी हुने क्रममा बधाई दिने विदेशी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुमध्ये प्रधानमन्त्री मोदी पहिलो भएका छन् ।’ समाचार अनुसार ट्रम्पले विजयको निकट पुगेपछि फ्लोरिडामा समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा मोदीले उनलाई बधाई दिएका हुन् ।
सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्रीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पलाई यसअघि सन् २०२० मा भएको भारत भ्रमणका केही फोटो राखेर बधाई दिएको टाइम्स अफ इण्डियाको समाचारमा उल्लेख छ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्रम्पलाई बधाई दिनुभएको छ ।
उहाँहरुभन्दा पहिले हिजो अपरान्ह परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा ट्रम्पलाई बधाई दिनुभएको थियो ।
टिप्पणीहरू