दिपकराज र निश्चलको 'झगडा' सतहमा

दिपकराज र निश्चलको 'झगडा' सतहमा

कलाकार दिपकराज गिरी र निश्चल बस्नेतबीच धेरै कुरामा समानता भेटिन्छ । उनीहरु राम्रो अभिनय गर्ने कलाकार हुन् भने निर्देशकीय खुबी पनि छ । दुबैले बनाएका चलचित्र अहिलेसम्म कुनैपनि डुबेको छैन । 

कमर्सियल चलचित्रको निर्माणमा दुबै अब्बल मानिन्छन् । र, अर्को समानता भनेको गिरी र बस्नेत खरो विचार राख्ने गर्छन् । चलचित्रको विषय जोडिएको प्रसंगमा उनीहरु आफ्नो दृष्टिकोण सार्वजनिक गर्न डराउदैनन् । त्यसैले होला, दुबैका आलोचक र प्रशंसक बराबर छन् । 

नेपाली चलचित्रको वर्तमान अवस्थामा दुबै जना 'रोलमोडल' हुन् । तर, अहिले यी दुईबीच शीतयुद्ध चलिरहेको छ । दिपक र निश्चलबीचको आन्तरिक खट्पट्बारे सिनेवृतमा पहिल्यैदेखि चर्चा चल्दै आएको थियो । खासगरी फिल्मको कलेक्शन र हल सञ्चालकले दिने शोको विषयमा उनीहरुको मनमुटाव भइरहने चलचित्र समीक्षकहरु बताउछन् । अहिले भने यी दुईको लफडा सतहमै प्रकट भएको छ । 

स्मरणीय छ, दिपक हल सञ्चालक पनि हुन् । बानेश्वरस्थित एनबि सेन्टरमा उनको आइएनआइ सिनेमा हल छ । उता हरेक चलचित्रमा 'शो' का लागि हल सञ्चालकहरुसँग संघर्ष गर्दै आएका निश्चलले पछिल्लो चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओटिटि प्ल्याटफर्म (एमएसएम भिडियो)मा राखेका छन् । असोज १७ गते घटनास्थापनाको अवसरमा रिलिज भएको यो चलचित्रको शो हल सञ्चालहरुले एक हप्तामै घटाएका थिए । विदेशी चलचित्रलाई प्राथमिकतामा राखेर आफ्नो फिल्मलाई पाखा लगाउन खोजिएको भन्दै निश्चलले आफैँ हलबाट फिल्म उतारे । 

यसरी हल सञ्चालकहरुले शो नदिएका कारण रिसाएका निश्चललाई लक्षित गर्दै अस्ति दिपकले एउटा स्टास लेखे । उनको भनाई थियो, ‘प्रायः हलहरुले शो दिएन भनेर हामी उफ्रिन्छौ । तर हेरौ त, नगन्य शोबाट शुरु भएको 'पूर्णबहादुरको सारङ्गी'ले आफूलाई कहाँ पुर्यायो ? यो भन्दा पहिले १२गाउँ पनि त्यस्तै । समस्या कहाँ रहेछ त ?’

दिपकले घुमाउरो शैलीमा 'बेहुली फ्रम मेघौली'लाई कमजोर चलचित्र भनेपछि निश्चल आक्रोशित बन्न पुगे । उनले तुरुन्त जवाफ फर्काउँदै विदेशी फिल्मको शो घटाएर नेपाली चलचित्रलाई शो दिएको भ्रम नर्छन आग्रह गरे । 

आफ्नो चलचित्रको बलबुताले नै दर्शकहरु हलसम्म पुगेको दावी गर्दै निश्चलले भनेका छन्, ‘कोही चलचित्रकर्मी (जो आजकाल हल पनि चलाउछन)ले मौका पाएर ठूलो गफ छाडिहालेछन् । नेपाली चलचित्रले राम्रो गर्दै गएपछि शो बडेको बडै छ त भन्दै । हो हजुर हो । विदेशी फिल्म राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ नी, त्यही दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ, सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन ? सधै नेपाली फिल्मले चै प्रमाणीत गरिरहनु पर्ने हो ? निर्माताले शो थपिदिनुन भनेर गुहार्नु पर्ने नै हो ? प्रस्ट छ, विदेशी फिल्मको शो घटाईएर नेपाली फिल्मलाई दिएका छौं भनेर भ्रम नछर्दा हुन्छ ।  नेपाली फिल्मले दर्शक खोजेको हो, हलसम्म आफ्नो बलबुताले ल्याएको हो । यो फिल्मले राम्रो दाम ल्याउछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो । विदेशी फिल्म पनि हात्ती आयो हात्ती आयो फुस्सा भएपछि शो घटाईएको हो । कमसेकम चलचित्र बनाईरहेको व्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिईन । बोल्नुभयो, ठिक गर्नुभयो । चिनियो !’

टिप्पणीहरू