कांग्रेस र एमालेले जिबी राईलाई लुकाएको सहकारी पीडितको दाबी

कांग्रेस र एमालेले जिबी राईलाई लुकाएको सहकारी पीडितको दाबी

पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरुले जिबी राईलाई सरकारले नै संरक्षण गरेर लुकाएको दाबी गरेका छन् । 

'सहकारी पीडित संघर्ष समिति'ले आज पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले नै जिबीलाई पक्राउ गर्न नचाहेको बताएका हुन् । एमाले र कांग्रेसका ठूला नेताहरु पनि सहकारी ठगीमा जोडिने भएकाले जिबीलाई लुकाइएको समितिका अध्यक्ष किरण श्रेष्ठले दाबी गरे । 

‘सरकारले चाहने हो भने पैसा फिर्तामात्रै होइन, जिबी राईलाई भोलि नै पक्राउ गरेर नेपाल ल्याउनसक्छ’ उनले भने, ‘तर सरकारले यो गर्दैन, किनभने कांग्रेस र एमालेका ठूला नेता पनि जोडिने देखिएकाले यीनीहरु सबै मिलेर संरक्षण गरिरहेका छन् ।’

अध्यक्ष श्रेष्ठले सहकारी ठगी प्रकरणमा राजनीति नगर्न सुझाउँदै अन्यथा नसोचेको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ‘सहकारीको समस्या समाधान हुन्छ भन्ने, बचतकर्ताको बचत फिर्ता हुन्छ भन्ने, अनि गतिविधि चाहीँ राजनीतिक स्वार्थका लागि गरिएको जस्तो देखियो, आखिर कहिले पाउछौँ हामीले हाम्रो बचत ?’ उनले प्रश्न गरे ।

जिबी राईका तत्कालीन व्यावसायिक साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र छविलाल जोशी पक्राउ परेपछि पीडितमा बचत फिर्ताको झिनो आशा पलाए पनि सरकारले शतप्रतिशत प्रत्याभूती दिलाउन नसकेको श्रेष्ठले गुनासो गरे । 

उनले फेसबुकमा फेक अकाउन्ट बनाएर सहकारी पीडितबारे भ्रम नफैलाउन रास्वपा कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

टिप्पणीहरू