जेन जी विध्वंशमा संलग्न १५ जना पक्राउ

जेन जी विध्वंशमा संलग्न १५ जना पक्राउ

भदौ २४ गतेको जेन जी विध्वंशको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गरेको अभियोगमा इलाममा १५ जना पक्राउ परेका छन् । पक्राउ परेकामा अधिकांश उमेरले ‘जेन जी’ भनिने उमेर समूहभन्दा माथिका व्यक्ति रहेको बताइन्छ । 

५२ वर्षीय कमलकुमार साह हलुवाई, २९ वर्षीय विशाल नेम्वाङ, ४० वर्षीय पवित्तर मल्लिक, ३९ वर्षीय होमबहादुर खवास, २२ वर्षीय आदर्श राई, ३६ वर्षीय यादव तिवारी, ३० वर्षीय अर्जुन त्रिखत्री, २५ वर्षीय अञ्जु राई, सागर संग्रौला, ३२ वर्षीय तेजकुमार विक, २८ वर्षीय अनिष राई, २९ वर्षीय मन उर्फ मोहनकुमार लिम्बु, ४३ वर्षीय सुरज राई उर्फ सुरज गुरुङ, ४६ वर्षीय टीका चौहान र ३६ वर्षीय सबिन राई प्रहरी नियन्त्रणमा छन् । 

उनीहरूलाई शनिबार र आइतबार दुई दिनमा पक्राउ गरिएको हो । प्रहरीले भदौ २४ गते इलाम सदरमुकाममा गरिएको तोडफोड र आगजनीमा संलग्न देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । हिरासतमा राखेर अनुसन्धान अघि बढाइएका उनीहरूलाई फोटो तथा भिडियो फुटेजको आधारमा पहिचान गरिएको हो।

भदौ २४ गते इलाम नगरपालिकाको कार्यालय तोडफोडमा ५ करोड रुपैयाँभन्दा बढी क्षति पुगेको थियो । नगरपालिकाका कम्प्युटर, कागजात पनि चोरी भएको प्रहरीले जनाएको छ ।

अराजक समूहले इलामस्थित प्रहरीको पीपी टावर, बिब्ल्याँटे प्रहरी बिट, निर्वाचन कार्यालय, कर कार्यालयलगायतका संरचना तोडफोड गरेका थिए। भवन, सवारी साधन, कम्प्युटर र फर्निचर नष्ट हुँदा लाखौँ क्षति भएको छ । 

उक्त समूहले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका पार्टी कार्यालयहरू पनि तोडफोड गरेका थिए । सदरमुकामबाहिर सबैभन्दा बढी क्षति माई नगरपालिकामा पुगेको प्रहरीले जनाएको छ। त्यहाँका कागजात र फर्निचर बाहिर निकालेर जलाइएको थियो भने सवारी साधनसमेत तोडफोड गरिएको थियो। अधिकांश वडा कार्यालय क्षतिग्रस्त छन्।

तर माई नगरपालिकामा आगजनी–तोडफोडमा संलग्न व्यक्तिहरू भने अहिलेसम्म पक्राउ परेका छैनन्। प्रहरीले १५ जनालाई पक्राउ गरे पनि तोडफोडमा संलग्न संख्या सयभन्दा बढी रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

टिप्पणीहरू