रोष्ट्रमबाट उठाएको मागमा प्रचण्ड अडिग
फाइल फाेटाे
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बन्द भएका भ्रष्टाचार काण्डका फाइलहरु ‘रि-ओपन’ गरेर अनुसन्धान गर्न माग गरेका छन् । भ्रष्टाचारविरुद्धको २२औँँ अन्तराष्ट्रिय दिवसको अवसरमा उनले एक शुभकामना वक्तव्य जारी गरेर ०४६ सालयताका सबै उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गर्नुपर्ने बताएका हुन् ।
आफ्नो प्रधानमन्त्रीकालमा सुशासनका कयौँ मानकहरु स्थापित भएको प्रचण्डको जिकिर छ । ‘सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, विचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ’, उनले भनेका छन्, ‘प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपुर्ण कदम चालिए।’
भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको मात्र नभएको बताउँदै प्रचण्डले निरन्तर जनताको सचेत सहभागिता अपरिहार्य रहेको पनि बताएका छन् । अघि भनेका छन्, ‘हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानविनको माग मैले संसदको रोष्टमबाटै समेत गरेको थिएँ र आज पनि त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु।’
भ्रष्टाचार अन्त्यको लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता र संस्थागत सुदृढीकरण अनिवार्य शर्त रहेको भन्दै प्रचण्डले सरोकारवालकाे ध्यानाकर्षण समेत गराएका छन् ।
टिप्पणीहरू